‘निर्यात प्रवद्र्धनमा सरकारले सघाउँछ’ – उद्योगमन्त्री यादव


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तत्पर रहेको बताएका छन् ।

नेपाल पश्मिना उद्योग सङ्घको शुक्रबार ललितपुरमा भएको १८औँ वार्षिक साधारणसभामा मन्त्री यादवले पश्मिनालगायत निर्यातजन्य वस्तुको निकासी बढाउन निजी क्षेत्र सशक्त रुपमा लाग्नुपर्ने सुझाउँदै त्यसमा सरकारले भरमग्दुर सहायता गर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घजस्ता निजी क्षेत्रका सङ्गठित सङ्घसंस्थालाई निर्यात प्रवद्र्धनमा लाग्न आग्रह गर्दै निर्यातका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको मन्त्री यादवको भनाई थियो ।
वाणिज्य सचिव केदारबहादुर कार्कीले विश्वभर निजी क्षेत्रलाई औद्योगिक विकासको वाहक मानिएको बताए । निजी क्षेत्रको व्यापार बिस्तारमा सरकारले सघाउँदै आएको उनको भनाई थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले विगतका सरकारले अधिक निकासीकर्ता, करदातालगायतलाई सम्मान गर्दै आएकोमा अहिले यस्ता कृयाकलाप बन्द गरिएकोमा चिन्ता व्यक्त गरेका थिए । आफूहरू सरकारसँग काँधमा काँध मिलाएर देशको आर्थिक उन्नयनमा लागिपरेको ढकालको भनाई थियो ।

संघका अध्यक्ष दुर्गाविक्रम थापाले सन् २०१८ मा तीन अर्ब रुपैंयाको पश्मिना निर्यात भएको जानकारी दिँदै ४७ देशमा च्याङ्ग्रा पश्मिनाको व्यापार चिह्न दर्ता गरिएको जानकारी दिए ।