रसुवागढी र सान्जेन जलविद्युतको आइपिओ भर्ने अवधि थप्न धितोपत्र बोर्डको निर्देशन


रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको साधारण शेयरमा आवेदन गर्ने समयावधि थप्न धितोपत्र बोर्डले निर्देशन दिएको छ । बोर्डले दुवै कम्पनीका शेयर निष्काशन तथा बिक्री प्रबन्धक तथा केन्द्रिय निक्षेप प्रणालीलाई पत्राचार गर्दै शेयर निष्काशनको अवधि थप्न निर्देशन दिएको हो ।

बोर्डमा लगानीकर्ताहरुले सिडिएससीको मेरो शेयरबाट शेयर आवेदन गर्न नसकिएको भन्दै गुनासो दर्ता गराएका थिए । सोही गुनासोका आधारमा शेयर निष्काशनको अवधि थप गर्न निर्देशन दिइएको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरे नोटबजारलाई बताए ।

नोटबजारसँगको कुराकानीमा घिमिरेले भने, ‘लगानीकर्ताको गुनासोका आधारमा हामीले बिहीबारसम्मको समयावधि थप्न निर्देशन दिएका हौं ।’ 
उता रसुवागढी जलविद्युत कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ध्रुव तिमल्सिनाले बोर्डबाट पत्र प्राप्त भएको पुष्टि गरे । ‘बोर्डबाट आएको निर्देशन अनुसार हामीले बिहीबारसम्म शेयर निष्काशन गर्ने तयारी मिलाई सक्यौं ।’ नोटबजारसँग कुरा गर्दै तिमिल्सिनाले भने ।

केन्द्रिय निक्षेप प्रणाली सिडिएससीले पनि मेरो शेयरमा सार्वजनिक निष्काशनको सूचीबाट साञ्जेन र रसुवागढीको साधारण शेयरलाई मंगलबार साँझ ५ बजे हटाइसकेको थियो । धितोपत्र बोर्डको निर्देशन पाए पछि सिडिएससीले मेरो शेयरमा फेरी दुवै कम्पनीको शेयरमा आवेदन गर्न मिल्ने बनाईसकेको छ ।

धितोपत्र बोर्डले दुवै जलविद्युत कम्पनीका बिक्री प्रबन्धक तथा सहायक बिक्री प्रबन्धकहरुलाई पत्राचार गर्दै भनेको छ, सार्वजनिक निष्काशनको क्रममा सिडीएसएलको सफ्ट्वेयरमा समस्या उत्पन्न भई आवेदन गर्न नसकिएको भनी लगानीकर्ताहरुबाट बारम्बार गुनासो आएको आएको सन्दर्भमा उक्त निष्काशनमा सर्वसाधारण प्राकृतिक व्यक्तिले आवेदन दिन सक्ने गरी २ दिन अर्थात २०७६ बैशाख १२ गतेसम्म समयावधि थप गर्ने व्यवस्था मिलाई सो को जानकारी बोर्डलाई गराउनु ।