शेयरको लगानी व्यवस्थापन गर्न नभ्याउनेलाई केसीएलको सेवा, कर्जा पनि उपलब्ध गराउने


केसीएल अस्ट्यूटले बैंक कर्जामार्फत धितोपत्रको दोस्रो बजारमा लगानी गरिदिने मध्यस्थकर्ता (पोर्टफोलियो म्यानेजमेन्ट) को काम सुरु गरेको छ । अस्ट्यूटले सानो बचतलाई पनि सेयर बजारमा परिचालन गर्न उद्देश्यसहित कर्जा उपलब्ध गराएर लगानी व्यवस्थापन गरिदिने भएको हो ।

हाल ३० भन्दा धेरै व्यक्ति तथा संस्थाको गरी कुल ११ करोड रूपैयाँ बरावरको लगानी व्यवस्था गर्दै आएको अस्ट्यूटले समय तथा ज्ञानको अभावका कारण बचतमार्फत् न्यूनतम् प्रतिफल लिएका पेसा वा व्यवसायीको पुँजीलाई धितोपत्रको दोस्रो बजारमा परिचालन गरेर सक्दो धेरै प्रतिफल दिने काम गर्छ ।

लगानी व्यवस्थापनमा मात्र केन्द्रित अस्ट्यूटले लगानीकर्ताको २० प्रतिशत स्वःपुँजीमा लगानीकर्ताले लगानी गर्न चाहेको रकमको बाँकी ८० प्रतिशत रकम साझेदार बैंकमार्फत उपलब्ध गराइदिइ लगानी गरीदिने गरेको संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले बताए । “सेयर बजारमा लगानी गर्न चाहनेलाई हामीले सहकार्य गरेको बैंकमार्फत सहज कर्जा दिलाएर पनि लगानी गरिदिन्छौं,” उनले भने, “कर्मचारी, चार्टर्ड एकाउन्टेन्स्, डाक्टर, इञ्जिनियर जस्ता पेशामा आवद्ध भइ नियमित आम्दानी हुने तर, समय तथा जानकारीका अभावका कारण सेयर बजारमा लगानी गर्नबाट बञ्चित हुन नपरोस् भन्ने हो ।”

मर्चेन्ट बैंकहरूले पनि लगानी व्यवस्थापकको काम गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट लिएको भए पनि अस्ट्यूटले जसरी पूर्णरूपमा केन्द्रित भएर काम गरेका छैनन् । लगानी व्यवस्थापकले ग्राहकको न्यूनतम ३ लाख रूपैयाँदेखि माथि जति पनि रकमको लगानी व्यवस्थापन गरिदिने भट्टराई बताउँछन् । लगानीकर्तासँग कम्तिमा एक वर्षका लागि लगानी व्यवस्थापन गरिदिने सम्झौता गरेर काम गर्ने गरेको उनको भनाइ छ । मानौं कि तीन वर्षका लागि लगानी व्यवस्थापन गर्ने सहमति भए १० प्रतिशत रकम प्राथामिक निष्कासन र हकप्रदका लागि छुट्याई बाँकी पैसामध्यको ६० प्रतिशतलाई दीर्घकालीन र ४० प्रतिशतलाई अल्पकालीन रूपमा सेयर बजारमा परिचालन गर्ने गरेको भट्टराई बताउँछन् ।

धितोपत्र बोर्डबाट २६ संस्थाहरूले व्यवस्थापकको पनि काम गर्ने अनुमति लिएका छन् । बोर्डले एक मर्चेन्ट बैंकरलाई छुट्टाछुट्टै प्रक्रियावाट सेयर रजिष्ट्रार, प्रत्याभूतिकर्ता, बिक्री प्रबन्धक र लगानी व्यवस्थापकको अनुमति दिन्छ । यी मध्ये कुनै एक मात्र गर्ने गरी अनुमति लिन पनि सकिन्छ । लगानी व्यवस्थापकले कुनै पनि व्यक्तिले आफ्नो पुँजी लगानी गर्ने अवधि र चाहेको प्रतिफललाई समिश्रण गरी व्यक्तिकै चाहनाअनुसार लगानी गर्न मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने भट्टराई बताउँछन् ।

लगानी व्यवस्थापकले पुँजी तथा समयलाई आधार मानेर लगानी गर्ने उनको अनुभव छ । लगानीकर्ताले लगानी व्यवस्थापकमार्फत् लगानी गर्दा जोखिम कम हुनुका साथै प्रतिफल पनि बढी हुने हुन्छ । सेयर बजारका लागि नयाँ तथा समय नभएका व्यक्तिको मात्र नभै बजारका ठूला लगानकर्ताले पनि व्यवस्थापक मार्फत केही प्रतिशत लगानी गरेको खण्डमा पोर्टफोलियो व्यवस्थापनमा सहयोग हुने उनी बताउँछन् । समान्यतयाः पोर्टफोलियो म्यानेजमेन्ट भनेको ‘हाइ नेटवर्थ’ भएका व्यक्तिका लागि उपयुक्त मानिने गरेको पनि उनले सुझाए ।

अस्ट्यूटले लगानी व्यवस्थापकको सेवा दिएवापत लगानीकर्ताबाट लगानी रकमको ०।५ देखि १।२५ प्रतिशत सेवा शुल्ने लिने गरेको छ । यो शुल्क बार्षिक रूपमा हरेक वर्ष मूल्यांकन रकम अनुसार लाग्छ । लगानीकर्ताका लागि प्रतिफल निश्चित नगरे पनि ८ प्रतिशतभन्दा धेरै प्रतिफल भएको वढी भएको प्रतिफलको १५ देखि २५ प्रतिशतसम्म शुल्क लिने र बाँकी रहेको ७५ देखि ८५ प्रतिशत लगानीकर्ताको हुन्छ । लगानीकर्ताको साथै सेयर खरिद बिक्री, सम्बन्धित कम्पनीको प्रतिफल संकलनलगायत सम्पूर्ण कामसमेत कम्पनीले नै गरिदिन्छ । अस्ट्यूटले लगानीकर्ताको बैंक एकाउन्ट, डिपी अकाउन्ट, सेयर कारोबार एकाउन्ट नै चलाएर लगानी व्यवस्थापन गरिदिन्छ ।