रसुवागढीका आवेदकले बढीमा ४० कित्ता शेयर पाउँदा सान्जेनकाले २० पाउने


बिहीबार निष्काशन बन्द भएका रसुवागढी र सान्जेन जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको छ । बिक्री प्रबन्धकहरुले दिएको तथ्यांक अनुसार दुवै कम्पनीको शेयरमा माग भन्दा अधिक आवेदन परेको छ ।

रसुवागढी हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर निष्काशन भएकोमा १ करोड ७१ लाख ४३ हजार कित्ता शेयर माग भएको छ । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले नोटबजारलाई दिएको जानकारी अनुसार निष्काशन बन्द हुने समयसम्ममा तीन लाख २ हजार ६३० जनाले उल्लेखित शेयर माग गरेका हुन् । उनका अनुसार यो तथ्यांक प्रारम्भिक मात्र हो ।

उल्लेखित तथ्यांकका आधारमा हेर्दा रसुवागढीको शेयरमा आबेदन गरेकाहरुले औसतमा ३० कित्ता शेयर पाउने भएका छन् । १० कित्ता शेयर माग गर्ने आवेदकको संख्या अधिक भएको तिमिल्सिनाले नोटबजारलाई जानकारी दिए । यस आधारमा ४० कित्ता शेयर पाउनेहरुको संख्या पनि उल्लेख्य हुने आँकलन गर्न सकिन्छ ।

उता बिहीबार नै निष्काशन बन्द भएको सान्जेन हाइड्रोको साधारण शेयरमा पनि अधिक आवेदन परेको छ । हाइड्रोको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार ३ लाख ४ हजार ७० आवेदकले १ करोड ४१ लख ३२ हजार ८०० कित्ता शेयर माग गरेका छन् सान्जेनले सर्वसाधारणमा ४९ लाख ८२ हजार २५० कित्ता शेयर निष्काशन गरेको थियो ।

आवेदकको संख्याका आधारमा हेर्दा रसुवागढीमा भन्दा सान्जेनमा धेरै आवेदन परेको हो । रसुवागढीको तुलनामा सान्जेनको थोरै मात्रामा शेयर निष्काशन भएकाले थोरै शेयरमा नै आवेदकले चित्त बुझाउनु पर्ने भएको छ । माथिको तथ्यांकका आधारमा हेर्दा सान्जेनका सबै आवेदकले औसतमा १६ कित्ता शेयर पाउने देखिन्छ । सान्जेनमा पनि १० कित्ता मात्र शेयर माग गर्ने आवेदकको संख्या धेरै भएका कारण २० कित्ता शेयर पाउनेको संख्या धेरै हुनेछ ।

दुवै जलविद्युत कम्पनीको शेयर जलविद्युतमा जनताको लगानी कार्यक्रम अन्तरगत निष्काशन गरिएको हो । मंगलबार नै शेयर निष्काशन बन्द भएकोमा लगानीकर्ताको गुनासोका आधारमा धितोपत्र बोर्डले २ दिन अवधि थप गर्न निर्देशन दिएको थियो ।