बल्ल बिक्यो युनियन हाइड्रोको आईपिओ, सबैले मागे जति पाउने


युनियन हाइड्रोको प्राथमिक शेयर समय थप गरे पछिको महिना दिनमा बल्ल बिक्री भएको छ । हाइड्।ोको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार एक महिनामा निष्काशन बन्द हुँदा हाइड्रोको शेयर बिक्री मात्र भएको हो ।

चैत १३ देखि निष्काशन भएको शेयर बिक्री नभए पछि एक महिनासम्मका लागि निष्काशन खुल्ला गरिएको थियो । ३५ लाख ३४ हजार ३४० कित्ता शेयर निष्काशन भएकोमा महिना दिनको अवधिमा ३६ लाख ८९ हजार कित्ता शेयरका लागि आवेदन परेको हो ।

निष्काशित शेयर र माग भएको शेयर संख्याका आधारमा हेर्दा सबै आवेदकले झण्डै मागे जति नै शेयर पाउने देखिन्छ । कमजोर वित्तीय अवस्था भएका कारण युनियनको आईपिओमा लगानीकर्ताले चासो देखाएका थिएनन् ।

प्रारम्भिक तथ्यांक अनुसार हाइड्रोको शेयरमा ४७ हजार १६४ जनाले मात्र आवेदन गरेका हुन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले पनि शेयरमा आवेदन गरेका थिएनन् । उक्त शेयर समेत अहिले सर्वसाधारणलाई लामो समयसम्म पर्खिएर बिक्री गरिएको हो ।