आईपिओ बेचेको वर्ष आशलाग्दो प्रगति गरेको आशा लघुवित्त


साधारण शेयर निष्काशन गर्ने तयारीका बिच ऋणत्मक जगेडा, ४ हजार रुपैंया खुद नाफा भएको एउटा लघुवित्तले साधारण शेयर बेचेको वर्ष नै झण्डै ढेढ करोड रुपैंया खुद नाफा कमाएको छ । साधारण शेयर निष्काशन गरेर चुक्ता पूँजीको आकार बढाएको लघुवित्तले देखाएमो सुधारले लगानीकर्तामा आशा जगाएको छ ।

केही समय अघि मात्र साधारण शेयर निष्काशन गरेको आशा लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा १ करोड ४५ लाख ५६ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ४ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा लघुवित्तले ९ करोड २० लाख रुपैंया रहेको चुक्ता पूँजीलाई २० करोड ७४ लाख रुपैंया पुर्याएको छ । १ करोड १० लाख रुपैंयाले ऋणत्मक रहेको जगेडा कोषलाई १ करोड ४३ लाख २६ हजार रुपैंयाले धनात्मक बनाएको लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैंया ३६ पैसा कायम भएको छ ।
समीक्षा अवधिमा व्यवसायको आकार बढाउँदै लगेको लघुवित्तको निष्कृय कर्जा अनुपात भने खस्किएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ०.७३ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात चालु आर्थिक वर्षको चैत मसान्तमा आउँदा २.६७ प्रतिशतमा उक्लिएको छ ।

लघुवित्तको प्रतिशेयर नेटवर्थ १०६ रुपैंया ९० पैसा छ ।