बीमा कम्पनीका बिचमा मर्जर गराउँदै बीमा समिति, प्रोत्साहन गरिने


बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा लैजाने नीति अवबलम्बन गर्ने भएको छ । यसका लागि समितिले बीमा कम्पनीहरुलाई छुट दिएर मर्जरको अभियान चलाउने भएको हो ।

आइतबार मर्जरसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै समितिले बीमा कम्पनीका बिचमा मर्जरमा सहजता मिलाएको हो । सोही निर्देशिकामार्फत मर्जरमा जाने बीमा कम्पनीहरुलाई छुट दिने व्यवस्था गरिएको छ । बीमक गाभ्ने तथा गाभिने सम्बन्धी निर्देशिका, २०७० लाई खारेज गर्दै समितिले नयाँ निर्देशिका जारी गरेको हो ।

मर्जरमा जान चाहने बीमा कम्पनीहरुले सञ्चालक समितिको बैठकबाट निर्णय गरेर सिधै बीमा समितिको शैद्धान्तिक सहमति लिन सकिने व्यवस्था निर्देशिकामा गरिएको छ । शैद्धान्तिक स्वीकृति पाए पछि भने साधारण सभा वा विशेष साधारण सभाबाट प्रस्ताव पारित गर्नु पर्ने व्यवस्था निर्देशिकामा छ ।

समितिको मर्जर नीतिलाई सधाउने बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको हकमा कुलिगं पिरियड लागू हुने छैन । दुई वा दुई भन्दा बढी बीमा कम्पनी भर्जरमा जाँदा पनि समितिले तोकेको न्युनतम चुक्ता पूँजी नपुगेको खण्डमा एक वर्ष थप समय पाउने छन् ।