माथिल्लो त्रिशूली थ्री एको संरचनाको परीक्षण सम्पन्न


माथिल्लो त्रिसूली थ्री ए जलविद्युत् आयोजनाको संरचना तथा उपकरणहरुको परीक्षण सम्पन्न भएको छ । आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नु पर्ने सम्पूर्ण परीक्षण पुरा गरेको हो ।

सोमबार विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परिक्षण सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । यस्तो परीक्षणमा सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत गृहमा रहेको टर्वाइनमा झारिन्छ र त्यसबाट जेनेरेट, कन्ट्रोल प्यानेल लगायतका उपकरणहरु डिजाइन अनुसार चले नचलेको हेरिन्छ । विद्युत् भने उत्पादन हुँदैन ।
रसुवा र नुवाकोटमा निर्माण भइरहेको आयोजनाबाट ३० मेगावाट (पहिलो युनिट) विद्युत् मंगलबारबाट उत्पादनको लक्ष्य राखिएको थियो । तर, आयोजननाका संरचना तथा त्यहाँ रहेका उपकरणहरुको परीक्षणमा समय लागेकाले व्यवसायिक रुपमा विद्युत उत्पादन केही ढिलाइ भएको घिसिङले बताए ।

‘विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयासबाट अब विद्युत् उत्पादन सुरु गर्न सक्ने अवस्थामा पुर्याएका छौं, नन्–लोड टेष्टिङ सफलतापूर्वक सम्पन्न भएको छ । अब सुरुङमा रहेको पानी खाली गरेर त्यहाँ चुहावट भए–नभएको हेरिन्छ,पानी खाली गर्न र भर्न ५–६ दिन लाग्छ, यसबीचमा अन्य कामहरु पनि समानान्तर रुपमा अगाडि बढ्छन्’,उनले भने, ‘वैशाखभित्र (९१५ मे २०१९) मा व्यवसायिकरुपमा एउटा युनिटबाट विद्युत् उत्पादन हुने छ ।’
दोस्रो युनिट (३० मेगावाट)को असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनास्थलबाट काठमाडौंको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण सकिएको छ ।

कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो । इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)सँग १४ जेठ २०६७ (२८ मे २०१०)मा ठेक्का सम्झौता भएको थियो ।

१७ जेठ २०७१ (३१ मे २०१४)भित्रमा निर्माण सक्ने गरी सिजिजिसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । विगतमा विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय लगायतका कारणले आयोजनाको निर्माण ढिलाई भएपछि म्याद १६ असार २०७३ (३० जुन २०१६)सम्म थपिएको थियो ।

भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो । भूकम्प र पहिरोले काबु बाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद १७ वैशाख ०७६ (३० अप्रिल २०१९) सम्म थप गरेको थियो । भूकम्प र पहिरोले बा“ध स्थलको दायाँ–बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पुर्याएको थियो । सरकारले पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा नेपाली सेनालाई दिएको थियो ।