जो सुकै भए पनि बालुवाटारको सरकारी जग्गा फिर्ता ल्याइन्छ : प्रधानमन्त्री

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले जो सुकै संलग्न भए पनि सरकारी जग्गा फिर्ता ल्याइने दृढता व्यक्त गर्नुभएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा आज सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा पार्टीका अध्यक्षसमेत रहनुभका प्रधानमन्त्री ओलीले बालुवाटारको ललिता निवास र अन्यत्रका सरकारी जग्गा फिर्ता ल्याइने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “अहिले सरकारी जग्गाका विषयमा सरकार र पार्टीलाई बदनाम गराउन खोजिँदैछ तर यो धेरै पहिलेदेखि भएको कारोवार हो । यसमा हाम्रा पार्टीका महासचिव विष्णु पौडेल त्यसबेला कुनै पदमा नभएकाले सत्ताको दुरुपयोगमा उहाँको संलग्नता छैन ।” उहाँले सरकारी जग्गा वा वाइड बडी प्रकरणमा छानबिन भइरहेकाले सत्यतथ्य बाहिर आउने पनि स्पष्ट गर्नुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली¬’ को राष्ट्रिय आकाङ्क्षाका साथ सरकार अघि बढिरहेकाले नेता, सांसद र कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै उहाँले आउँदो बजेटमा वृद्धभत्ता बढाइने जानकारी पनि दिनुभयो । उहाँले केही वर्षभित्र गरीबीको रेखामुनि जनता नरहने जिकिर पनि गर्नुभयो । सङ्घीय संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न उहाँले सांसदहरुलाई निर्देशन दिनुभयो ।