स्वास्थ्य बीमाले जनताको स्वास्थ्य राम्रो हुनेछ : मुख्यमन्त्री पोखरेल


संविधानले व्यवस्था गरेको स्वास्थ सेवाको मौलिक अधिकारलाई सबै जनताले सहजै पाउने गरी स्वास्थ्य बीमाले व्यवस्थापन गर्न थालेको मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन ।

नेपाल नेत्रज्योति सङ्घ प्रदेश नं ५ को प्रथम कार्यशालाको भैरहवामा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले हरेक नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहोउन् भनेर सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको बताए । उनले भने, “एक जना नागरिक बराबर रु ५० हजारको स्वास्थ्य बीमा र विपन्न वर्गको लागि राज्यले नै रकम सहयोग गरेर देशभरबाट कूल १५ अर्ब रुपैयाँ वार्षिक बीमा बापतको राजश्व उठ्छ । त्यसले हरेक नागरिकको स्वास्थ्य उपचार गर्न सहज वातावरण बनाउन मद्दत पु¥याउने छ ।”

मुख्यमन्त्री पोखरेलले नेत्रज्याति सङ्घले अन्धोपन निवारणको लागि गरेको योगदानको राज्यले उचित मुल्याङ्कन गरेको बताए । उनले भने, “नेपालका आँखा अस्पतालले स्वदेशी मात्रै होइन विदेशीलाई पनि सेवा दिइरहेका छन् । आँखा अस्पतालमा भारतीय सेवाग्राहीको सङ्ख्या अत्यधिक छ । नेपालका अस्पताल विश्वस्तरको सेवा दिन तयार छन् ।” तिलगंगा अस्पतालको सेवाले नेपालको नाम संसारमै चिनाएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

कार्यक्रममा सङ्घीय सभा सदस्य सुजिता शाक्य, नेपाल नेत्र ज्योति सङ्घका अध्यक्ष प्राध्यापक डा तीर्थराज मिश्र, सिद्धार्थनगरका नगर प्रमुख हरिप्रसाद अधिकारी, प्रदेश संयोजक सागरप्रताप राणालगायतले नेत्र ज्योति सङ्घले सामाजिक अभियानका रुपमा अन्धोपन निवारणमा खेलेको भूमिका महत्वपूर्ण भएको बताए । प्रदेश ५ मा नेत्र ज्योति सङ्घमार्फत रण अम्बिका आँखा अस्पताल भैरहवा, डा विनोद रिता कँडेल आँखा अस्पताल परासी, बुटवल लायन्स आँखा अस्पताल, लाकौल आँखा अस्पताल पाल्पा, तौलिहवा आँखा अस्पताल कपिलवस्तु, कृष्णनगर आँखा अस्पताल कपिलवस्तु, दाङ आँखा अस्पताल, राप्ती आँखा अस्पताल दाङ, फत्तेवाल शाह आँखा अस्पताल बाँके, प्युठान जिल्ला अस्पताल, गुल्मी जिल्ला अस्पताल र अर्घाखाँची जिल्ला अस्पताल सञ्चालनमा छन् । प्रदेश कार्यशालामा सहभागीले नेत्र ज्योति सङ्घको प्रदेश ५ को तदर्थ समितीसमेत गठन गरेको छ । रुपन्देहीका अध्यक्ष सागरप्रताप राणा संयोजक र दाङका अध्यक्ष कृष्ण गिरी सहसंयोजक रहेको तदर्थ समितिमा जिल्ला सभापति पदेन सदस्य रहेका छन् । (रासस)