बैंकबाट ऋण लिन र दिन राष्ट्र बैंकको कार्यविधि अनुसार जग्गा,जमीन तथा सम्पत्तिको मूल्याङ्कन गराउनुपर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले जग्गा,जमीन तथा सम्पत्तिको मूल्याङ्कनका विषयमा कार्यविधि बनाउने भएको छ । यो कार्यविधि बनेपछि बैंकबाट ऋण लिन र दिन राष्ट्र बैंकको कार्यविधि अनुसार जग्गा,जमीन तथा सम्पत्तिको मूल्याङ्कन गराउनुपर्नेछ । 

नेपाल भ्यालुयर्स एशोसिएशनको चौथो अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले अन्तर्राष्ट्रिय रुपमै महत्वपूर्ण र व्यावसायिक रहेको उक्त पेशालाई विश्वसनीय र वास्तविक बनाउन कार्यविधि ल्याउन लागिएको जानकारी दिए ।

चार वर्षअघि यस्तै विविध समस्याका कारण १६ बैंक समस्याग्रस्त भएकामा अहिले विस्तारै १४ बैंकले सेवा दिन थाले पनि दुई बैंक अझै अगाडि आउन नसकेको बताए ।

उनले कार्यविधि बनाएपछि जोखिम कम हुने विश्वास व्यक्त गरे । कुनै पनि वस्तुको मूल्याङ्कन नभएमा मूल्य नै नहुने उल्लेख गर्दै उनले सानो कुराले समेत समग्रतामा असर गर्ने हुँदा सही रुपमा मूल्य निर्धारण गर्नसमेत मूल्याङ्कन कर्तालाई आग्रह गरे ।

कुनै पनि बैंक तथा वित्तीय संस्थामा ऋण लिनका लागि जग्गा जमीन र सम्पत्तिको मूल्याङ्कनमा उनीहरुको आवश्यकता पर्छ । त्यही मूल्याङ्कनको आधारमा नै ऋण प्रदान हुन्छ । सही काम हुन सकेन भने संस्था बदनाम हुने र बैंकसमेत जोखिममा पर्ने भएकाले सचेत हुन गभर्नर नेपालले आग्रह गरे ।

विदेशी सङ्घसंस्थाले कुनै देशलाई ऋण दिन वा लगानी गर्नका लागिसमेत गार्हस्थ उत्पादन, आय, सम्पत्ति, राजनीति, नीति नियम कस्तो छ भन्ने जस्ता आधार लिने गरेकाले मापदण्डअनुसार चल्नुपर्नेमा उनले जोड दिए ।

गभर्नर नेपालले राष्ट्र बैंकले निर्माण गर्न लागेको कार्यविधिका विषयमा आवश्यक छलफलमा आउन नेपाल भ्यालुयर्स एशोसिएशन र इञ्जिनीयर्स एशोसिएशनका पदाधिकारीलाई आग्रह गरे । एशोसिएशनका सचिव मुक्ति पाण्डेले २०६८ सालमा स्थापना भएको संस्थामा सदस्य थपिने क्रममा रहेको र प्रगतिउन्मुख हुँदै गएको जानकारी दिए ।

उनले आवश्यक नीति, नियम र समन्वयमा राष्ट्र बैंकबाट स्पष्ट निर्देशन नभएकाले समस्या उत्पन्न भएको बताए । प्राविधिक जनशक्तिबाट मूल्याङ्कन हुने भएकाले कानूनी कागजातको प्रमाणिकरण, भूमाफियाको चलखेल, नक्कली तथा किर्ते कागजका विषय चुनौतीका रुपमा रहेको उनको भनाइ थियो ।