पूर्वदेखि पश्चिमका तीन लघुवित्त कम्पनीले गरे मर्जरमा जाने सम्झौता, राष्ट्रियस्तरको बलियो कम्पनी बन्ने


नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई मर्जरमा लैजाने नीति अवलम्बन गरे पछि लघुवित्त कम्पनीहरुमा मर्जरको क्रम सुरु भएको छ । यसै क्रममा सोमबार मात्र झापा, काभ्रे र कैलालीका तीनवटा लघुवित्त कम्पनीले मर्जरमा जाने सम्झौता गरेका छन् ।

राष्ट्रियस्तरको ठुलो लघुवित्त कम्पनी बन्ने लक्ष्यका साथ झापाको बिर्तामोडमा रहेको नागबेली लघुवित्त, काभ्रेको बनेपामा रहेको मिर्मिरे माइक्रोफाइनान्स र कैलालीमा रहेको किसान माइक्रोफाइनान्सले मर्जरमा जाने सम्झौता गरेका हुन् । बनेपास्थित मिर्मिरे माइक्रोफाइनान्सको केन्द्रिय कार्यालयमा एक आपसमा मर्जरमा जाने सम्झौता भएको हो ।

मर्जर सम्झौतामा मिर्मिरे माइक्रोफाइनान्सका अध्यक्ष टेकबहादुर बोहरा, नागबेली लघुवित्तका अध्यक्ष दीप बहादुर श्रेष्ठ र किसान माइक्रोफाइनान्सका अध्यक्ष नेत्रप्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।

माइक्रोफाइनान्समा अहिलेसम्मकै ठुलो मर्जर गर्न सकिएको भन्दै लघुवित्त कम्पनीहरुले केही बेरमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा मर्जरको घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

नागबेली लघुवित्तको चुक्ता पूँजी १६ करोड ७६ लाख रुपैंया छ भने मिर्मिरेको १३ करोड १२ लाख र किसानको ८ करोड ९८ लाख रुपैंया छ । मर्जर सम्पन्न भए पश्चात बन्ने लघुवित्त कम्पनीको चुक्ता पूँजी ३९ करोड रुपैंया हाराहारी पुग्ने बताइएको छ ।