जलवायु परिवर्तन सम्बन्धी १२ दिने कार्यशाला सम्पन्न

0
Shares

प्रदेश नम्बर पाँचको रुपन्देहीस्थित कोटिहवाको टाइगर प्यालेस रेसोर्टमा जलवायु परिवर्तन तथा फोहोर व्यवस्थापन सम्बन्धी १२ दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।

नेदरल्याण्डस् सरकारको अनुदानमा रुपन्देहीको प्रतिमान–नीमा स्मृती प्रतिष्ठान, नेदरल्याण्डस्को वागेनिगेन विश्वविद्यालय, वागेनिगेन सेन्टर फर डेभलप्मेण्ट एण्ड इनोभेसन, र आइएचइ डिल्फ्ट वाटर फर इन्स्टिट्युसनको संयुक्त आयोजनामा सो कार्यशाला सम्पन्न भएको हो ।

‘एडेप्टिङ टु क्लाइमेट चेन्ज ‘ वाइज वाटर म्यानेजमेन्ट फर अर्वन एण्ड रुरल रेजिलियन्स्’ नाम दिइएको सो कार्यशालामा ११ वटा मुलुकबाट २१ जना विज्ञहरुको उपस्थिती रहेको थियो । सहभागीहरु नेपाल, भारत, नेदरल्याण्डस्, नाइजेरिया, युगाण्डा, केन्या, माल्डोभा, फिलिपिन्स् लगायतका मुलुकबाट आएका थिए ।

‘प्रदेश नम्बर पाँचकै गौरवको रुपमा अन्तराष्ट्रिय स्तरको यस कार्यक्रमको आयोजना हुनु आफैंमा महत्वपूर्ण कुरा हो । कार्यक्रम अवधिभर डन्डा खोलालाई केन्द्रमा राखेर जलवायु परिवर्तन र सिमसार सम्बन्धी अध्ययन भएको छ’, प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले शुक्रवार आयोजित समापन कार्यक्रममा बताइन् ।

‘अन्तराष्ट्रिय विद्यार्थीहरु निम्त्याएर खोलाकै लागी भनेर अध्ययन गर्ने प्रदेश नम्बर पाँच नै देशमा पहिलो प्रदेश हो । यो आफैंमा गौरवको कुरा हो’, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार सुवोध शर्माले बताए ।

उनले नदी नै सभ्यताको चिनारी भएको र नदी सफा राख्न सकेमात्र मानव सभ्यता राम्रोसँग अघि बढ्न सक्ने समेत बताएका छन् । कार्यक्रमबाटै उनले अब उप्रान्त आफूले नकुहिने फोहोर प्रयोग नगर्ने बताएका छन् । यसैगरी प्रदेश नम्बर पाँचका सार्वजनिक कार्यक्रममा फ्लेक्स् प्रिन्ट प्रयोग नगर्न समेत उनले आग्रह गरेका छन् ।

यस्तै सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा काफ्ले अत्याधुनिक फोहोर प्रशोधन केन्द्र सञ्चालन गर्न लागिएको बताएकी छिन्

विभिन्न राजनीतिक कारणले गर्दा फोहोर प्रशोधन केन्द्र निर्माणका लागि भनेर एडीबीद्वारा अनुदान प्रदान ३५ करोड रुपैयाँ पनि प्रशोधन केन्द्र स्थापना गर्न नसकेर फिर्ता गर्नुपर्दा दुख लागेको बताएकी छिन् ।

यसअघि नै सहभागीहरुले अध्ययन अनुसन्धान पश्चात सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा काफ्लेसँग पनि भेटघाट गरेका थिए । भेटघाटको क्रममा उनीहरुले डन्डा खोला तथा सिद्धार्थनगरको फोहोर फालिने क्षेत्रको अध्ययनबाट प्राप्त अनुभव र तथ्यहरु उपमेयरसँग साटेका थिए ।

उपमेयर काफ्लेले सिद्धार्थनगर नगरपालिकाको फोहोर व्यवस्थापन गर्न नगरपालिका कटिवद्ध भएर लागेको र अबको पाँच वर्षभित्र नगरपालिकाले नजिकैको तिलोत्तमा नगरपालिकाको वडा नम्बर २१ को ५० एकर क्षेत्रफलमा फोहोर संकलन केन्द्र स्थापना गर्न लागेको समेत बताएकी थिइन् । यद्यपी एयरपोर्ट क्षेत्र वरपर १०.५ किलोमिटर परिधिमा फोहोर संकलन केन्द्र स्थापना गर्न नमिल्ने र सिद्धार्थनगर नगरपालिकाको क्षेत्रफल सानो भएकाले पनि फोहोर व्यवस्थापनामा चुनौती रहेको बताएकी थिइन् ।

यस्तै प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले ११ वटा मुलुकबाट बुद्धको भूमीमा अध्ययन गर्न आएका सहभागी देखेर स्वयं बुद्ध पनि खुसी भएको हुनसक्ने बताएका छन् ।

मन्त्री बरालले सामाजिक विकास मन्त्रालय सम्पुर्ण प्रदेशलाई नै सहज र गुणस्तरीय खानेपानीको बन्दोबस्त गर्न लागि परेको समेत बताएका छन् । ‘हामी प्रदेश नम्बर पाँचलाई सफा पिउने पानी बन्दोबस्त गर्ने छौं । कपिलवस्तुलाई खुला दिसामुक्त क्षेत्र बनाउने छौं । र पछि प्रदेश नम्बर पाँचलाई नै खुला दिसामुक्त क्षेत्र बनाइछोड्ने छौं ।’

यस्तै कार्यक्रम समापनकी अन्तिम वक्ता प्रतिमान–नीमा स्मृती प्रतिष्ठानकी अध्यक्ष विजया केसीले प्रतिमान–नीमा स्मृति प्रतिष्ठान आर्थिक रुपमा सम्पन्न नभएता पनि ज्ञान बाँढ्ने हिसावमा सम्पन्न हुँदै गएको बताएकी छिन् ।

१२ दिने कार्यक्रममा डन्डा खोलाको पानीको वहाव नाप्ने, पानीको नमुना लिने र शुद्धता नाप्ने, पानीमा पाइने जैविक विविधताको अध्ययन गर्ने लगायतका कार्य भएका थिए । डन्डा खोलाको माथिल्लो भाग, ड्याम क्षेत्र, स्वर्गद्वारी घाट क्षेत्र, मध्य भाग र तल्लो भागमा अध्ययन भएको थियो । यस्तै ग्रामिण तथा शहरी क्षेत्रमा पनि छुट्टाछुट्टै अध्ययन भएका थिए ।

यसका साथै सहभागीले फोहोर व्यवस्थापन गर्ने विभिन्न तरिका अन्तर्गतको भर्मिकम्पोष्टिङ र कम्पोष्टिङ प्रकृयाको समेत व्यवहारिक अध्ययन गरेका छन् ।

यसैगरि यस कार्यशाला पश्चात प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले आफ्नो नेतृत्वमा सञ्चालन गर्दै आएको ‘इको क्लव’लाई समेत विस्तार गर्ने भएको छ । कार्यकारी निर्देशक थापा भन्छिन्– ‘जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी मान्यता तथा सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा पालना गरेका छौं । यस अध्ययनबाट प्राप्त भएका तथ्यहरुलाई पठन सामाग्रीका रुपमा विकास गरिनेछ ।’

प्रतिमान–नीमा स्मृति प्रतिष्ठान विगत १६ वर्षदेखि सामाजिक संस्थाको रुपमा क्रियाशिल छ । यस संस्था आफ्नो स्थापनाकालदेखि नै विशेषतः तीनवटा अवधारणामा काम गर्दै आइरहेको छ– शैक्षिक विकास, अनुसन्धान र सामुदायिक क्रियाकलाप ।

यसअघि पनि प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले विभिन्न अन्तराष्ट्रिय कार्यशाला तथा अनुसन्धान कार्यक्रम सञ्चालन गरिसकेको छ । केहि महिना अघि अमेरिकाको द युनिभर्सिटी अफ न्यू मेक्सिकोका विद्यार्थीसँग मिलेर यस संस्थाले सिद्धार्थनगर नगरपालिकाको तीनवटा सामुदायिक विद्यालयमा ‘आउट डोर एयर पल्युसन ट्«याकिङ डिभाइस’ (प्रदुषण मापन यन्त्र) जडान गरेको थियो ।

यसका साथै निकट भविष्यमै आधुनिक प्रविधिमा पहुँच पु¥याउनका लागि कम्प्युटर तथा जीवनोपयोगी शिक्षा सञ्चालन गर्न ‘कम्युनिटी लर्निङ सेन्टर’को निर्माण सम्पन्न भइ हाल सञ्चालनको तयारीमा रहेको छ ।

वैशाख २३ गतेबाट थालिएको यस कार्यशालाको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्दै सम्पन्न भएको छ । कार्यशालाले सहभागिको ज्ञानको दायरा बढाएको र सिद्धार्थनगर नगरपालिकाको जलवायु तथा फोहोर व्यवस्थापनमा महत्वपुर्ण भूमिका निर्वाह गरेको प्रतिष्ठानकी निर्देशक स्वाती थापाको भनाई रहेको थियो ।