राष्ट्र बैंकले पुनः मंगलबार ६ अर्बको विकास ऋणपत्र जारी गर्ने


नेपाल राष्ट्र बैंकले मंगलबार ६ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सरकारले विकास निमार्णका कार्य गर्न आवश्यक रकम जुटाउनका लागि केन्द्रीय बैंकमार्फत विकास ऋणपत्र निष्कासन गरेको हो ।

सरकारका बैंकको रुपमा काम गर्दै आएको नेपाल राष्ट्र बैंकले सरकारका लागि आवश्यक रकम संकलन गर्न राष्ट्र ऋण व्यवस्थापन विभाग मार्फत आन्तरिक ऋण पनि उठाइदिन्छ । यसभन्दा अघि केन्द्रीय बैंकले सात वर्ष अवधिको ८ अर्व बरावरको विकास ऋणपत्र निष्कासन गरेको थियो ।

मंगलवार निष्कासन हुने विकास ऋणपत्र ११ वर्षमा परिपक्क हुनेछ । ’विकास ऋणपत्र २०८७ ख’ नामक ऋणपत्र बोलकबोल प्रक्रियाबाट बिक्री हुनेछ । सो विकास ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर बैंक बित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक सहभागी हुन पाउनेछन् ।

अर्ध वर्षिक रुपमा व्याज भुक्तानी पाइने भएपनि विकास ऋणपत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । यसभन्दा अघि जेठ २ गते निष्कासन गरेको ७ वर्ष विकास ऋणपत्रको कट अफ रेट ६.५ प्रतिशत अर्थात ६.५ प्रतिशत ब्याजदर माग गरी आवेदन दिनेसम्म सो ऋणपत्र पाएका थिए ।

ऋणपत्र खरीद गर्न इच्छुक लगानीकर्ताले जेठ ७ गते दउँसो ३ बजेसम्म बोलपत्र पेश गर्नु पर्नेछ । नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सफ्टवेयरमार्फत बोलकबोल पेश गर्न सकिनेछ । ६ अर्बको ऋणपत्रमा घटीमा पचास हजार र बढीमा निष्कासित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि खरीद गर्न सक्नेछ ।

बोलकबोलको निष्कासन जेठ ८१ गते हुनेछ भने ऋणपत्रमा गरिएको साँवा लगानी २०८७ जेठ ८ गते फिर्ता हुने जनाइएको छ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याज ब्याजकर लाग्ने केन्द्रीय बैंकको जनाएको छ ।

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्कासित रकमको ८० प्रतिशत र अप्रतिस्पर्धीलाई २० प्रतिशत अर्थात क्रमशः ४ अर्ब ८० करोड र १ अर्ब २० करोड छुट्याइएको छ । यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ भने ऋणपत्रको दोश्रो बजार अर्थात नेपाल स्टक एक्सचेञ्ज लिमीटेड मार्फत कारोबार पनि हुनेछ ।