सेयर लगानीकर्ता हाइड्रोपावर तर्फ


सेयर बजारका कारोबारीहरु पछिल्लो समयमा जलविद्युत कम्पनीको सेयरमा सक्रिय देखिएका छन । बुधबार सेयर कारोबारीले जलविद्युत कम्पनीको सेयर मूल्य वढेर खरिद गरेपछि हाइड्रोपावरको उपसूचकमा उछाल देखिएको हो ।

एक समूहबाट नाफा बुक गरेका लगानीकर्ताहरु अर्को समुहका कम्पनीको सेयरमा सिफ्ट गर्ने क्रममा पछिल्ला दिनहरुमा हाइड्रोपावरमा केन्द्रित हुदाँ सो सूचक सबैभन्दा धेरै करिब साढे ५ प्रतिशतले बढेको हो । यस्तै बुधबार शेयर कारोबार पनि अर्ब नजिक पुगेको छ।

बुधबार कारोबारमा आएका अधिकांश सूचकहरु सकारात्मक हुँदा नेप्से ७.४९ अंकले सुधार भएर १३१९.६३ बिन्दुमा पुगेको हो । यस दिन १७१ कम्पनीका ३४ लाख ३६ हजार ९३७ कित्ता शेयर किनबेच भएर ९६ करोड ६६ लाख रुपैयाँको कारोबार भयो ।

यो रकम मंगलबारको तुलनामा १५ करोड २२ लाख रुपैयाँ भन्दा बढी हो। मंगलबार ८१ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार करोबारमा आएका ११ उपसमुहको सूचकमध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डको सूचक बाहेक सबै सकारात्मक देखिएका छन्। उत्पादन तथा प्रशोधनको सूचक सबैभन्दा धेरै ८४.५३ अंकले ओरालो लागेको छ भने म्युचुअल फण्ड ०.२ अंकले नकारात्मक बनेको छ।

साढे ७ अंकले नेप्से सुधार भएको बजारमा हाइड्रोपावर सूचक सबैभन्दा धेरै ६८.६३ अंकले बढेको छ । यस्तै होटल ५२.२३, जीवन बीमा ४३.५९, निर्जीवन बीमा १०.९४, अन्य ८.१३, लघुवित्त ७.२१, विकास बैंक ६.०३, वित्त ४.०३ र वाणिज्य बैंकको सूचक २.५९ अंकले सकारात्मक भएका छन् ।

बुधबार नेपाल बैंक, प्राइम कमर्सियल बैंक र शिवम् सिमेन्टको शेयर अधिक मात्रामा कारोबार भएको छ। नेपाल बैंकको ६ करोड ९६ लाख, प्राइम कमर्सियलको ६ करोड ३७ लाख र शिवमको ६ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
यस्तै सानिमा माई हाईड्रोपावर र अपर तामाकोशीको ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ। बुटवल पावरको ४ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने कृषि विकास बैंक, एचआईडिसीएल, ओरियण्टल होटलको ३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बजारमा हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा अधिक उछाल आएको छ । शिर्ष शेयरमूल्य बढ्ने कम्पनीको सूचीमा ७ जलविद्युत कम्पनी रहेका छन् ।अरुण भ्याली हाइड्रोपावरको र अपर तामाकोशीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। अरुण भ्यालीको शेयरमूल्य १० प्रतिशतले बढ्दा अपर तामाकोशीको शेयरमूल्य ९.७१ प्रतिशतले बढेको छ । यस्तै अरुण काबेली, रैराङ्ग हाइड्रोपावर, हिमालयन पावर पार्टनर, अपि पावर, मल्टिपर्पस फाइनान्स, सिटी एक्सप्रेस फाइनान्सको शेयरमूल्य पनि ९ प्रतिशतले बढीले बढेको छ ।

घलेम्दी हाइड्रोको शेयर मूल्य अस्वभाीक रुपमा घटेपछि सर्किट लागेको छ । घलेम्दीको शेयरधनीहरुले सबै भन्दा धेरै ९.४८ प्रतिशतले गुमाएका हुन् । यस्तै हिमालयन डिस्टीलरीको शेयरमूल्य ६.७०, शिवम सिमेन्टको ५.९८, सेन्ट्रल फाइनान्सको ४.८७ प्रतिशत र रिलायन्स फाइनान्सको शेयरमूल्य ४.०८ प्रतिशतले घटेको छ ।