भाजपालाइ पुन बहुमत मिल्ने संकेतसंगै शेयर बजारमा उच्च सुधार


भारतमा भर्खरै सम्पन्न भएको लोकसभाको चुनावी नतिजाले भाजपालाई बहुमत मिल्ने संकेत देखिएसँगै भारतीय शेयर बजारले नयाँ रेकर्ड बनाएको छ । बिहीबार शेयर बजार खुलेदेखि नै बढिरहेकोमा सेन्सेक्स र निफ्टीले नयाँ उचाई बनाएका छन ।


पहिलो पटक भारतीय शेयर बजारका सुचक सेन्सेक्सले ४० हजारको र निफ्टीले १२ हजारको आँकडा पार गरेका हुन् । सेन्सेक्स ९७३ अंकले बढेर ४० हजार ९४ मा र निफ्टी ३०० अंकले बढेर १२ हजार ३८ मा कारोबार भइरहेका छन् ।
प्री मार्केटमा सेन्सेक्स ४८१ अंकको बढोत्तरीका साथ ३९ हजार ५९१.७७ मा खुलेको थियो भने निफ्टी १६३.३० अंकको बढोत्तरीका साथ ११ हजार ९०१ मा खुलेको थियो ।

नतिजा सार्वजनिक हुने क्रममा मोदी सरकारको बर्चस्व कायम देखिएसँगै निफ्टी र सेन्सेक्स दुवै परिसूचकले नयाँ उचाइ छोएका हुन् । सन् २०१४ मा मोदी प्रधानमन्त्री हुदाँ ६ महिनाको अवधिमा शेयर बजारमा १५ प्रतिशतको वृद्धि देखिएको थियो ।

विश्लेषकहरुका अनुसार लगानीकर्ताले भाजपाकै नेतृत्वमा स्थिर सरकार बन्ने अनुमानका आधारमा शेयर बजारमा लगानी तीब्र पारेका छन् । चुनावी नतिजाले मोदी सरकार फेरि फर्कने देखएिकाले लगानीकर्ताहरुमा बैंकिङ कम्पनीहरुको शेयरप्रति उच्च आकर्षण देखिएको छ । यसका साथै अटोमोबाइल कम्पनीहरुका शेयरमा पनि लगानीकर्ताहरु झुम्मिएका छन् ।
तीन दिनअघि एक्जिट पोलको नतिजा सार्वजनिक भएपछि नै भारतीय शेयर बजारले एक पछि अर्को नयाँ रेकर्ड बनाएको थियो ।
एजेन्सी