लाइफ इन्स्योरेन्स कर्पोरेशनले प्रस्ताव गर्यो बम्पर लाभांस, पूँजी २ अर्ब नाघ्ने

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गत आर्थिक वर्षको कमाईबाट आफ्ना शेयरधनीलाई बितरण गर्ने लाभांस प्रस्ताव गरेको छ । मंगलबार साँझ झण्डै ५ बजे बसेको कम्पनी सञ्चालक समितिको ९९ औं बैठकले आकर्षक बोनस तथा नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई ७० प्रतिशत लाभांस बितरण गर्ने प्रस्ताव गरेको छ । जसमा ३४.४६२६ प्रतिशत बोनस शेयर तथा ३५.५३७३ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरिएको हो । इन्स्योरेन्सको १७ औं वार्षिक साधारण सभाले अनुमोदन गरे पछि मात्र लगानीकर्ताले प्रस्तावित लाभांस पाउने छन् । यसभन्दा पहिले बीमा समितिले कम्पनीको लाभांस प्रस्तावलाई स्वीकृति दिनु पर्ने हुन्छ ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले प्रस्ताव गरेको लाभांसलाई बीमा समितिले परिमार्जन गर्न लगाएको थियो । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले ३६ प्रतिशत बोनस तथा १.८९ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको थियो । बीमा समितिले प्रोभिजनको आकार सानो भएको भन्दै एलआईसीलाई लाभांसको आकार घटाएर प्रोभिजन बढाउन भनेको थियो । जसका कारण एलआईसीले प्रस्तावित लाभांसमा संसोधन गर्दै १२ प्रतिशत बोनस तथा ०.६३ प्रतिशत मात्र नगद लाभांस बितरण गरेको थियो ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० रुपैंया छ । प्रस्तावित बोनस बितरण पश्चात एलआईसी नेपालको चुक्ता पूँजी बीमा समितिले तोके अनुसार २ अर्ब रुपैंया नाघ्नेछ ।