बजेटमा मिश्रित प्रतिक्रिया


आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमाथि विभिन्न क्षेत्रका व्यक्तिले फरक फरक धारणा व्यक्त गरेका छन् ।

संसद्मा प्रमुख प्रतिपक्ष दलका सांसद, उद्योगी, व्यापारी तथा घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीले बजेटको कार्यान्वनको पक्ष हेर्न बाँकी रहेको बताएका छन् ।

सांसद डा मिनेन्द्र रिजालले लगानीको लागि विश्वासको वातावरण भइनसकेको र आन्तरिक स्रोतबाट जम्मा भएको रकमले उल्लेख गरेजति परिणाम दिन नसक्ने भएकाले यो बजेटले जनताको विश्वास लिन नसकेको दाबी गरे । सांसद चन्दा चौधरीले समग्रमा बजेट मर्मस्पर्शी भए पनि तीन तहका सरकारबीच सकारात्मक समन्वय भएमा बजेट सफलतापूर्वक कार्यान्वयन हुने बताइन ।
उद्योगी पशुपती मुरारकाले बजेट जनताको चाहना मुताविक प्रस्तुत भए पनि अर्थमन्त्री खतिवडाले लगानी सम्मेलनमा व्यक्त गरेअनुरुपका प्रतिबद्धता पूरा भएमा मात्र बजेट कार्यान्वयन हुने बताए ।

पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधारका क्षेत्रमा विनियोजन भएको बजेटले जनताको मन जित्न कोशिस गरेको देखिए पनि समग्रमा बजेटको कार्यान्वयन महत्वपूर्ण हुने बताए । नेपाल उद्योग परिसङ्घका पूर्वअध्यक्ष तथा सांसद विनोद चौधरीले इतिहासको रचना गर्ने अवसरबाट वर्तमान अर्थमन्त्री चुकेको बताउँदै आधार वर्षमानै करको दायरा बढाउन नसकेकोले बजेटको कार्यान्वयनमा शङ्का गरे ।