योगीकोटी–धकधई प्रसारण लाइन संचालनमा, कुलमान भन्छन्, भैरहवा क्षेत्रको विद्युत् आपूर्ति सुधारिन्छ


रुपन्देहीमा निर्माण भएको करिब ३३ किलोमिटर योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएको छ । औद्योगिक क्षेत्रको रुपमा तिब्र विकास भइरहेको भैरहवाको विद्युत आपूर्तिलाई सुधार गर्न निर्माण गरिएको प्रसारण लाइन आइतबारबाट संचालनमा आएको हो ।

भैरहवा र त्यहाँ स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत आपूर्तिका लागि निर्माण गरिएको ३३÷११ केभीको सबस्टेसनको पनि परीक्षण सुरु भएको छ ।

योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएपछि भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार आई वितरण प्रणाली गुणस्तरीय र विश्वसनीय हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘योगीकुटी सबस्टेसनबाट ४÷५ वटा फिडरमार्फत भैरहवा क्षेत्रमा विद्युत आपूर्ति भइरहेको थियो, ३३ केभी फिडर ओभरलोड भोल्टेज समस्या थियो भने माग अनुसार विद्युत आपूर्ति गर्न सकिरहेका थिएनौं’, कार्यकारी निर्देशक घिसिङले भने ।

‘योगीकुटी–धकधई प्रसारण लाइन र धकधई सबस्टेसन संचालनमा आएसँगै त्यस क्षेत्रमा रहेको लो भोल्टेज, लाइन ट्रिपिङ लगायतका समस्या समाधान हुने छन्, ३३ केभी लाइन ओभरलोडका कारणले बढेको प्राविधिक चुहावट घट्ने छ भने भैरहवा क्षेत्रमा खुल्ने नयाँ उद्योगलाई विद्युत् आपूर्ति दिन सक्नेछौं ।’ घिसिङले भने ।

उनले भैरहवा सेज परिसर भित्र सबस्टेसन नबने पनि तत्कालका लागि धकधई सबस्टेसनबाट ११ केभी लाइनमार्फत विद्युत् दिन सकिने बताए । आफ्नो परिसरभित्र ३३÷११ केभी सबस्टेसन निर्माण गरी भैरहवा सेजले त्यहाँ खुल्ने उद्योगलाई विद्युत् दिने बताइएको छ ।

सेजभित्र सबस्टेसन निर्माणका लागि टेण्डरको प्रक्रियामा रहेको बताइएको छ । धकधई सबस्टेसनबाट सेजसम्मको करिब ११ किलोमिटर ३३ केभी प्रसारण लाइन पनि निर्माणाधीन अवस्थामा छ ।

नेपाल सरकार, प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा संचालित विद्युत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत योगीकुटी–धकधई प्रसारण लाइन र धकधइ सबस्टेसन निर्माण गरिएको हो । आयोजना अन्तर्गत नारायणी नदीको पश्चिममा वितरण लाइन र १२ वटा सबस्टेसन निर्माणका लागि २०७३को असोजमा ठेक्का सम्झौता भएको थियो । केही सबस्टेसनको निर्माण सम्पन्न भएको र केही निर्माणाधीन अवस्थामा रहेको आयोजना प्रमुख बोधराज ढकालले बताए ।