नेपाल र मरिसस सरकारबीच श्रमिक आदानप्रदान गर्नेसम्बन्धी समझदारी भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा आज दुई मुलुकका अधिकारीबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भयो ।
समझदारीपत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालीममन्त्री सुदेश एस क्यालीचर्नले हस्ताक्षर गरे । समझदारीमा दुवै मुलुक पारदर्शीता, निष्पक्षता र नैतिकतामा आधारित श्रमिक भर्ना, छनोट र परिचालनको सिद्धान्तप्रति प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।
समझदारीसँगै कामदारको छनोट तथा भर्नाका सन्दर्भमा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने छ भने कामदारले कुनै पनि शुल्क तिर्नुपर्ने छैन् । समझदारीमा रोजगारदाताको कमीकमजोरीका कारण वा प्रतिष्ठान बन्द भई कामदार बेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्न सक्ने प्रावधान राखिएको छ ।
नेपाली श्रमिकलाई मरिससका नागरिकको न्यूनतम ज्यालाभन्दा कम नहुने गरी तलब सुविधा उपलब्ध गराउनुपर्ने तथा कुनै पनि कामदारलाई ज्याला, अतिरिक्त कामको अतिरिक्त भत्ता, कार्य वातावरण र न्यायमा पहुँचजस्ता विषयमा कुनै विभेद गर्न नपाइने समझदारीमा उल्लेख गरिएको छ ।
कामदारको आपूर्तिमा मरिससमा कुनै प्रकारका एजेन्सीको कल्पना गरिएको छैन । मरिससका रोजगारदाता कम्पनीले सिधै नेपालका म्यानपावर कम्पनीसमक्ष कामदार माग गर्नेछन् । समझदारीमा मरिससका रोजगारदाता र नेपालका रोजगार व्यवसायी बीचको प्रत्यक्ष समन्वयमा कामदारलाई पठाउने व्यवस्था गरिएको जेनेभाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए ।
यस्तो छ मरिसस
मरिससमा होटल, अतिथि सत्कार र उत्पादनमूकल क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली कामदारले रोजगारीको अवसर पाउने सम्भावना रहेको छ । कुल क्षेत्रफल एक हजार ८६० वर्ग किलोमिटर रहेको मरिसस माडागास्करबाट ८९० किलोमिटर पूर्वमा अवस्थित छ । मरिससको औसत तापक्रम १३ देखि २५ डिग्री सेन्टिग्रेटसम्म रहेको छ । मरिससमा युरोपिएन, अफ्रिकन, भारतीय र चिनियाँ नागरिकको बाहुल्यता छ । सन् २०१७ को तथ्याङ्क अनुसार मरिससको जनसङ्ख्या १२ लाख ६० हजार छ ।
मरिससमा विभिन्न धार्मिक उत्सव मनाउने गरेको पाइन्छ । भारतीय मुलका नागरिकको बाहुल्यता भएकाले मसिसमा झन्डै नेपाली साँस्कृतिक परम्परा मेल खाने देखिन्छ । चिनियाँ तथा युरोपेली मुलका नागरिकले पनि आआफ्ना कला सँस्कृति देखाउने गरेका छन् ।
मुख्य भाषाका रूपमा अङ्ग्रेजी रहे पनि मरिससमा हिन्दी, मैथली, भोजपुरी, चिनियाँ भाषा पनि बोलिन्छ । मरिससमा ४८ प्रतिशत हिन्दू, ३२ प्रतिशत इसाई धर्मावलम्बीको बसोबास रहेको छ । मरिससको साक्षरता प्रतिशत ८५–९० रहेको छ ।
मरिससको मुख्य स्रोतका रूपमा कृषि रहेको छ । कृषिजन्य उत्पादनमा उखु, चिया, सूर्ति, तरकारी, फलफूल, पुष्प तथा माछा रहेको छ । कपडा, घडी, गरगहना, चश्मा, खेलौना तथा खेलकूदका सामग्रीलगायत निर्यातजन्य उद्योग सञ्चालनमा रहेका छन् ।
मुख्यरूपमा मरिससबाट कपडाजन्य उत्पादन, चिनीलगायत उत्पादन निर्यात हुने गरेको छ भने औद्योगिक वस्तु, खाद्य पदार्थ, पेट्रोलियम पदार्थको आयात गर्दै आएको छ ।
मरिससमा मनाइने मुख्य चाडपर्वका रूपमा दिवाली, इदुल फित्र, गणेश चतुर्थी, होली, महाशिवरात्रि रहेका छन् । ती पर्वका अवसरमा मरिसस सरकारले सार्वजनिक बिदा दिने गरेको छ । नेपालमा खाइने दाल, भात, अचार पनि मसिससमा खाइने मुख्य खानाका रूपमा रहेको छ ।
प्रतिक्रिया