बीमा समितिका अध्यक्ष भन्छन्, ‘बीमा कम्पनीको चुक्ता पूँजीको व्यवस्था खारेज हुन्छ’


बीमा समितिका अध्यक्ष डा. चिरञ्जीवी चापागाईले बीमा कम्पनीहरुको चुक्ता पूँजीको हालको व्यवस्था हटाउने बताएका छन् । रिलायन्स लाइफ इन्स्योरेन्सको सम्पर्क केन्द्रको उद्घाटन गर्दै समिति अध्यक्ष चापागाईले बीमा कम्पनीलाई इन्भेष्टमेण्ट कम्पनीका रुपमा अघि सारिने समेत बताए ।

रिलायन्स लाइफको २४ घण्टे सम्पर्क केन्द्रको सेवा सुचारु गर्दै बीमा समितिका अध्यक्ष चापागाईले बीमा कम्पनीहरुलाई इन्भेष्टमेन्ट कम्पनीका रूपमा विकास गरिने बताए । गत वर्ष नै यस्तो व्यवस्था सहितको नयाँ निर्देशिका ल्याएको बताएका उनले चुक्ता पूँजीको व्यवस्था हटाएर जोखिममा आधारित पूँजीको व्यवस्था गरिने बताएका थिए ।

जीवन बीमाको बारेमा जनचेतना अभिवृद्धि गर्न भन्दै रिलायन्सले सञ्चालनमा ल्याएको सम्पर्क केन्द्रको बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र कम्पनीका अध्यक्ष ताराचन्द केडियाले सयुक्त रुपमा उद्धघाटन गरेका थिए ।

वर्षको ३ सय ६५ दिन नै सञ्चालनमा रहने सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा, कम्पनीको योजनाहरुको बारेमा परामर्श लिन सक्नेछन् । ग्राहकले ‘४७८७२२४’मा फोन गरेर वा कम्पनीको फेसबुक, ट्वीटर, वेबसाइट, इमेल तथा मोबाइल एपमार्फत आवश्यक परामर्श लिन सक्नेछन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण प्रवीणरमण पराजुलीले ग्राहकका गुनासो सम्बोधन गर्न सम्पर्क केन्द्र सञ्चालनमा ल्याइएको बताए । उनले भने, ‘पोलिसी मात्र विक्री गरेर अब बजारको विकास हुन सक्दैन, पोलिसी विक्री गरेपछि ग्राहकको समस्याको समाधान गर्ने हाम्रो लक्ष्य हो ।’