टिआइएमा बम थ्रेटको उद्धार अभ्यास ः आधा घण्टा सेवा बन्द हुने


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल(टिआइए)मा शुक्रबार ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यास गरिने भएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएको विमानस्थलले जनाएको छ ।

यो अभ्यासका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । सङ्कटकालीन योजनाअनुरुप गरिने अभ्यासका लागि विमानस्थल आधा घण्टा बन्द गरिने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार पहिलो पटक पूर्णकालीन अभ्यास गर्न लागिएको हो ।

अभ्यासका क्रममा दिउँसो ३ः१० देखि ३ः४० बजेसम्म विमानस्थलका नियमित उडान÷अवतरण सूचना प्रकाशित गरी आधा घण्टा बन्द गरिनेछ । त्यसअवधिमा राष्ट्रिय र अन्तराष्ट्रिय दुबै उडान बन्द हुनेछन् ।
अन्तराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को नियमअनुसार विमानस्थलले हरेक दुई वर्षमा सङ्कटकालीन योजनाको अभ्यास गर्नुपर्ने प्रावधानअनुरुप विमानस्थले ‘एयरपोर्ट इमर्जेन्सी प्लान’ अनुसार गरिने योजनाबद्ध अभ्यास मात्रै भएको उल्लेख गरेको छ ।

बोइङ ७५७ जहाजको ‘डमी’ बनाएर विमानस्थलको ‘ट्याक्सी वे’ क्षेत्रमा आपत्कालीन उद्धारको अभ्यास गरिनेछ । विमानस्थलका महाप्रबन्धक क्षेत्रीका अनुसार उडा नं इएक्सई १२४ एक्सरसाइस एयरलाइन्स नामक जहाजमा अलर्ट–५ अन्तर्गत जहाजमा बम रहेको सूचना आएपछि आपत्कालीन पूर्णअभ्यास गरिनेछ । यो अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिनेछ ।

प्रकाशित मिति: १३ असार २०७६, शुक्रबार  १४ : १० बजे