एक वर्षमा १९५ मेगावाट विद्युत थपियो


चालु आर्थिक वर्ष २०७५/०७६ मा नेपालमा १९५ मेगावाट विद्युत् थप भएको छ । यो अवधिमा ९१५ किलोमिटर सडक कालोपत्रे भएको छ ।
सो विद्युत् थप भएसँगै मुलुकको कुल विद्युतजडित क्षमता एक हजार ३२५ मेगावाट पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ७७ प्रतिशतले धेरै हो । त्यस्तै ६६ केभीभन्दा बढी क्षमताको ७५७ किमी प्रसारण लाइन निर्माण सम्पन्न भएको सरकारले जनाएको छ । प्रधानमन्त्रीबाट चालु आवमा ‘जनताको जलविद्युत् कार्यक्रम’ शुभारम्भ गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज भएको मन्त्रालयगत वार्षिक समीक्षा बैठकमा चालु आवमा चार लाख २० हजार घरधुरीमा विद्युत् सेवा पु¥याइएको सम्बन्धित मन्त्रालयका सचिवले जानकारी दिए ।
पूर्वाधारतर्फ यस अवधिमा एक हजार ५० किमी सडक ग्राभेल भएको र ठूला साना गरी कूल २४३ पुल बनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । त्यस्तै माटे सडक ३१५ किमी बनेको र ४२१ किमी रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भएको मन्त्रालयले जनाएको छ । जयनगर–जनकपुर–कुर्था ३५ किमी रेललाइन तथा रेल्वे स्टेशन तयार भई आगामी असोजसम्म सञ्चालन हुने अवस्थामा पुगेको छ भने बथनाहा–विराटनगर १८ किमी रेल सञ्चालनका लागि तयार भएको छ ।
रक्सौल–काठमाडौँ १३५ किमी र काठमाडौँ–रसुवागढी ७२ किमी रेलमार्ग निर्माणको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । कृषितर्फ यस अवधिमा अघिल्लो आवको तुलनामा खसीबोका आयात ४६ दशमलव नौ प्रतिशतले घटेको र रसुवा तथा थानकोट नाकामा अस्थायी क्वारेन्टाइन चेकपोष्ट स्थापना गरी सञ्चालन गरिएको कृषि तथा पशुपक्षी मन्त्रालयले जानकारी दिएको छ ।
शहरी विकास कार्यक्रमअन्तर्गत तराई–मधेशका २० जिल्ला सदरमुकामका नगरपालिकामा शहरी पूर्वाधार विकासअन्तर्गत कूल २३० किमी शहरी सडक, ३३३ किमी सतही ड्रेन, १३ किमी ढल र तीन बसपार्क (इनरुवा, सिद्धार्थनगर र धनगढी) निर्माण सम्पन्न भएको छ ।
यस अवधिमा भूकम्प प्रभावित, ग्रामीण खानेपानी, वर्षात्को पानी सङ्कलनलगायत गरी कुल ५२६ आयोजनाको निर्माण सम्पन्न भई दुई लाख ८० हजार ८३९ जनसङ्ख्या आधारभूत तहको खानेपानी सेवाबाट लाभान्वित भएका छन् । सरकारले असोज मसान्तसम्म नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने गरी काम भइरहेको जनाएको छ । यस आवमा काठमाडौँ उपत्यकाका सबै चलचित्र घरमा बक्स अफिस प्रणाली लागु गरिएको, नेपाल टेलिभिजनलाई एचडी प्रणालीमा रुपान्तरण गरिएको र रु पाँच करोड ३२ लाख ७४ हजार ८७७ को पत्रकार वृत्तिकोष स्थापना गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।