बिग मर्जरलाई प्रभावकारी बनाउन पूर्व गर्भनरहरुको सुझाव


नेपाल राष्ट्र बैंकका पूर्व गर्भनरहरुले बैंकहरुको बिग मर्जरलाई प्रभावकारी बनाएर लैजान केन्द्रीय बैंकलाई सुझाव दिएका छन् । मौद्रिक नीति निमार्णको अन्तिम तयारीमा जुटेको राष्ट्र बैंकले बिहीबार गरेको पुर्व गर्भनरहरुसँग छलफलमा यस्तो सुझाव आएको हो।

राष्ट्र बैंकसँगको छलफलमा पूर्व गर्भनरहरुले वित्तीय क्षेत्रको स्थायित्व कायम गर्ने शिलशिलामा मर्जरलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका हुन्। यस्तै नेपालको बैंकिङ्गहरुलाई अन्तर्राष्ट्रिय बजारमा उपस्थित हुनसक्ने गरी पुनरसंरचना गर्नुपर्ने उनीहरुको सुझाव छ।

अन्तर्राष्ट्रिय आर्थिक स्थिति तथा विकास क्रमलाई ध्यानमा राखी केन्द्रीय बैंकले मौद्रिक नीति तर्जुमा गर्नुपर्ने, आयात व्यवस्थापन र आन्तरिक उत्पादन वृद्धिका उपायहरु अपनाई व्यापार घाटा न्यूनीकरण गर्नुपर्नें, अर्थ व्यवस्थाको आन्तरिक र वाह्य क्षेत्र स्थायित्वका लागि आवश्यक उपायहरु अवलम्बन गर्नुपर्ने लगायतको सुझाव पूर्व गर्भनरहरुले दिएका छन्।

यस्तै वित्तीय सेवाको लागत घटाउन, वित्तीय सेवा प्रवाहमा गुणस्तर वृद्धि गर्न, वित्तीय उपभोक्ताहरुको हीत संरक्षण गर्न आवश्यबक नीतिगत तथा कानूनी व्यवस्था गर्नुपर्ने उनीहरुको भनाई छ ।
सरकारको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यलाई सहयोग पुग्ने गरी कृषि लगायत अन्य प्राथमिकता प्राप्त क्षेत्रहरुमा वित्तीय श्रोत र साधनको लागि थप प्रवाह हुने गरी नीतिगत व्यवस्था गर्नुपर्ने, व्यापार घाटाको आकार कम गर्न र शोधनान्तर स्थितिलाई सन्तुलनमा राख्नका लागि स्थायी प्रकृतिको उच्च स्तरीय संरचना स्थापना गरी परिणाममूखी नतिजा निकाल्ने गरी काम गर्ने राष्ट्र बैंकलाई सुझाब दिएका हुन्।

छलफलमा पूर्व गभर्नरहरु हिमालय शम्शेर ज.व.रा., भेष बहादुर थापा, गणेश बहादुर थापा, तिलक बहादुर रावल, दीपेन्द्र पुरुष ढकाल र विजयनाथ भट्टराई रहेको राष्ट्र बैंकले जनाएको छ ।