उत्पादनसहितको व्यापारमा जोडदिनुहोस् :मन्त्री यादव


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकको समग्र विकासका लागि उत्पादनसहितको व्यापारमा जोड दिनु पर्ने बताएका छन ।
नेपाल चेम्बर अफ कमर्शले आज आयोजना गरेको कार्यक्रममा उनले निरपेक्ष व्यापारले मुलुकको अर्थतन्त्रको विकासमा टेवा नदिने भन्दै उत्पादनसहितको व्यापारमा लाग्न निजी क्षेत्रलाई आग्रह गरेका हुन ।
निजी क्षेत्रको सहभागिताबिना मुलुकको विकास असम्भव रहेको औँल्याउँदै मन्त्री यादवले निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तत्पर रहेको बताए । “उद्योग व्यवसायका समग्र उन्नयनका विषयमा छलफल गर्न सरकारले छिट्टै उद्योग वाणिज्यसम्बन्धी विषयगत बृहत् बहस एवं छलफलको आयोजना गर्न लागेको छ”, उनले भने, “त्यसका लागि विषयगत सुझाव दिन तपाईँहरु (निजी क्षेत्र) तयार हुनुहोस् ।”
सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्न चाहेको जनाउँदै मन्त्री यादवले उद्यमी व्यवसायीका सवाललाई समयमै सम्पन्न नगर्ने तथा काममा ढिलाई गर्ने कर्मचारीलाई दण्डित गरिने बताए । उनले भने, “समयमै काम सम्पन्न नगर्ने राष्ट्र सेवक दण्डित हुनुपर्दछ र त्यसतर्फ सरकार लागिरहेको छ ।”
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सुनचाँदीको निर्दे्शिका समयमा नै ल्याउन आग्रह गर्दै उपभोक्ताको हकहित संरक्षण र व्यावसायिक सहजीकरण एवं सुदृढीकरणमा जोड दिए । उनले नेपाल विश्व व्यापार सङ्गठनको मान्यताअनुसार भन्सार दर कम हुँदै जानुपर्नेमा भन्सार दर बढ्दै जाँदा बजार भाउ आकाशिने जोखिम बढेको बताए ।

छलफलमा सहभागी व्यवसायीले सुनचाँदी व्यवसायमा ३५ करोड रुपैयाँ भन्दा माथिको कारोबार गर्नेले विद्युतीय माध्यमद्वारा बिलबिजक जारी गर्नुपर्ने प्रावधान पूर्वतयारी तथा सरोकारवालासँग छलफलनै नगरी ल्याइएको भन्दै गुनासो गरेका थिए ।
उनीहरुले सुनचाँदीको पुनःप्रयोग, पुनःखरिद विक्री हुने र विद्युतीय तथा कागजीरुपमा बिलबिजक जारी गर्दा अन्योल सिर्जना हुने जिकिर गर्दै पर्याप्त गृहकार्य र तालीमपछि मात्र उक्त व्यवस्था लागू गर्न सुझाव दिएका थिए ।