शोधनान्तर घाटा ९० अर्ब ८३ करोड


आर्थिक वर्ष २०७५/७६ मा शोधनान्तर घाटा वढ्ने क्रममा रहेको छ । गत आर्थिक वर्षको जेठमा मात्र २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको छ ।

जेठसम्ममा सरकारको चालु खाता घाटा विस्तार भई २४८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २१० अर्ब २४ करोड रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको एघार महिनामा २ अर्ब ३ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा २ अर्ब २० करोड पुगेको छ । गत आवको ११ महिनामा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ अर्ब ३४ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको एघार महिनामा ४ करोड ९९ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ८० करोड ३१ लाखले घाटामा रहेको छ ।

गत आवको जेठसम्ममा पुँजीगत ट्रान्सफर १३ अर्ब ८८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १५ अर्ब २ करोड र प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११०२ अर्ब ५९ करोड रहेकोमा २०७६ जेठ मसान्तमा १०३० अर्ब ८८ करोड रुपैयाँ रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७६ जेठ मसान्तमा ९ अर्ब २५ करोड रहेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा ९८९ अर्ब ४० करोड रहेकोमा २०७६ जेठ मसान्तमा ८८५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा .११३ अर्ब १९ करोड रहेकोमा २०७६ जेठ मसान्तमा १४५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । २०७६ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचकहरू आर्थिक वर्ष २०७५/७६ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ८.८ महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रिय बैंकले जनाएको छ ।