कालीमाटी र बल्खु तरकारी बजारका १९ व्यापारी कारवाहीमा


सरकारले तरकारीको अस्वभाविक रुपमा मूल्यवृद्धि गरेको र विचौलियाको भूमिका खेलेको भन्दै कालीमाटी र बल्खुस्थित तरकारी बजारका १९ व्यापारीला कारबाही गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले आज गरेको अनुगमनका क्रममा आफूले खरिद गरेको तरकारीको बिलविजक देखाउन आनाकानी गर्ने कालीमाटीका आठ व्यवसायी र बल्खु तरकारी बजारका ११ व्यवसायीमाथि कारवाही गरेको हो ।


किसान तथा कृषि उपज सङ्कलन केन्द्रबाट तरकारी खरिद गरेको बिजविजल नदेखाउने बल्खुका १० र कालीमाटीका ६ व्यापारीलाई जनही पाँच÷पाँच हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । अनुगमनका क्रममा बल्खुस्थित तरकारी बजारमा बिचौलियासमेत फेला परेको थियो । एउटा पसलबाट तरकारी नाफा खाएर सोही ठाउँको अर्को पसलमा बेच्ने धन्दा चलाउँदै आएका ती बिचौलियालाई विभागको अनुगमन टोलीले ठाउँका ठाउँ २० हजार रुपैयाँ जरिवाना गरेको छ ।

खरिदसम्बन्धी कुनै पनि विवरण नदेखाउने कालीमाटीस्थित तरकारी बजारका दुई व्यापारीलाई जनही १०÷१० हजार जरिवाना गरिएको विभागले जनाएको छ । विभागको टोली अनुगमका लागि बजार प्रवेश गर्दा उपभोक्ताको ढाड सेक्न पल्किएका व्यापारी स्टलनै छाडेर भागेका थिए ।

तरकारी बजारमा बिचौलिया र ढुवानीकर्ताको पनि अनुगमन गर्ने उद्देश्यका साथ सो स्थानमा पुगेका भए पनि उनीहरु राति नै फर्कने गरेको भेटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । “विभागको टोली समग्र बजारको अनुगमन गर्ने उद्देश्यले गएको थियो, ढुवानीकर्ता तथा बिचौलियाले नाफा खाएर व्यापारीलाई दिने गरेका रहेछन”, उनले भने, “अनुगमन टोली ४ बजे बजारमा पुग्दा ढुवानीकर्ता र बिचौलिया राति १÷२ बजे नै फर्कने रहेछन् । अर्को चरणको अुनगमनका क्रममा अझ उन्नत ढङ्गबाट जानेछौँ ।”

 

केही ढुवानीकर्ताले नै बिचौलियाको भूमिका खेलेको हुनसक्ने अनुमान गरिएको छ । कृषि उपज सङ्कलन केन्द्रबाट ल्याउने ढुवानीकर्ताले नै अस्वभाविक मूल्य राखेर व्यापारीलाई दिने गरेका छन् । विभागले चुस्त दुरुस्त व्यवस्थापन गर्न नसकेको र बिचौलियालाई नियन्त्रणमा लिन नसकेको भन्दै कालिमाटी र बल्खुस्थित तरकारी बजारका व्यवस्थापन पक्षलाई पनि छलफलका लागि आउन निर्देशन दिएको छ ।

अनुगमन टोलीले प्रत्येक स्टलमा तरकारीको मूल्यसूची राख्न र थोक बिक्री गर्दा अनिवार्य रुपमा बिलविजक जारी गर्न सम्पूर्ण व्यापारीलाई निर्देशन दिएको छ । अनुगमनका क्रममा तरकारी बजार सुधार गर्न सरकारले विगतमा दिएको निर्देशन र चालेका कदम प्रभावकारी नदेखिएको पाइएको विभागले जनाएको छ ।