आर्थिक नियमले गरेका व्यवस्था प्यान/भ्याट कार्यान्वयन हुनुपर्नेमा अर्थमन्त्रीको जोड

0
Shares

अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रिय पूँजी निर्माण वर्तमान सरकारको प्राथमिकता भएको बताएका छन् । उनले त्यसमा सघाउन निजी क्षेत्रसँग आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग आइतबार अपराह्न आफ्नै कार्यकक्षमा भएको भेटमा अर्थमन्त्री खतिवडाले उद्योगका पूर्वाधार बनाउनेलगायत कामलाई उच्च प्राथमिकता दिइएको बताए। स्वच्छ, पारदर्शी र इमानदारीपूर्वक व्यवसाय गर्न आग्रह गर्दै उनले अनौपचारिक व्यापारबाट विमुख हुनुपर्नेमा जोड दिए ।

योगदानमा आधारित सामाजिक सुुरक्षा योजना, स्थायी लेखा नम्बर (प्यान), मूूल्य अभिवृद्धि कर (भ्याट)ढुवानी व्यवसायमा भ्याट लगायत आर्थिक नियमले गरेका व्यवस्था कार्यान्वयन गर्नुको विकल्प नरहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

डिजेलमा भ्याट फिर्ता गर्न नसकिने तथा भ्याट छल्नेलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले तरलता व्यवस्थापनमा बाह्य स्रोत परिचालन गर्न सकिने तथा उद्यमी–व्यवसायीका मनासिब समस्या हल गर्न सकिने बताए।

यसैबीच महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी–व्यवसायीका समस्या समाधानका निम्ति पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको जानकारी दिए । उनले अर्थमन्त्रालयका दुुई, महासङ्घका दुुई तथा एकजना विषयविज्ञ रहेको पाँच सदस्यीय कार्यदल गठन गर्ने मन्त्रिस्तरीय निर्णय भएको बताए । ढकालका अनुसार राजश्व अनुसन्धान विभाग, अर्थ मन्त्रालय मन्त्रिपरिषद्बाट निरुपण गरिनुपर्ने विषयलाई कार्यदलले निक्र्योल गर्नेछ ।