प्यान, बैंक खातामा तलब भुक्तानी र भिसिटिएस तीन महिनापछि मात्र लागू हुने

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले प्यान, बैंक खातामार्फत तलब भुक्तानी, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)लगायतका अहिलेका नियमहरु लागू गर्न तीन महिना सयम थप गर्न अर्थमन्त्रालय सकारात्मक रहेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग अर्थमन्त्रालयमा आयोजित अन्तरक्रियामा उनले अहिलेका प्रावधानहरु एकै पटक आएकाले समस्या जस्तो देखिएको भन्दै यी प्रावधानहरु लागू गर्न मन्त्रालयले परीक्षण तथा प्रवद्र्धनको समय राखेको जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्था र मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)लगायतका तीन महिनाका लागि पुरानै व्यवस्थामा काम गर्न सकिने बताए ।

नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउँदै आएका साना तथा घरेलु उद्योगहरुको प्रवद्र्घनमा सरकार लागेको भन्दै उनले यस्ता उद्योगहरुको उत्पादन लागत घटाउन प्रविधि सहयोग गर्न सरकार सहकार्य गर्न तयार रहेको बताए ।

तत्काल प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागु गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन महासंघको आग्रहलाई सम्बोधन गर्दै उनले प्यान, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)लगायतका अहिलेका नियमहरु केही समयका लागि लागु गर्न के कस्तो तयारी गर्नुपर्छ कार्यदलमार्फत सम्बोधन गरिने बताए ।

महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले तत्काल प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागु गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन आग्रह गरेका थिए ।

आर्थिक वर्ष २०७६/७७ देखि निजी क्षेत्रमा काम गर्ने सवै कर्मचारी र मजदुरहरुलाई समेत अनिवार्य (प्यान दर्ता गरी बैंक मार्फत तलव भुक्तानी गर्ने व्यवस्था लघु, घरेलु तथा साना उद्योगमा तत्काल लागु गर्ने अवस्था तत्काल नरहेको उनको भनाई थियो ।