​विदेशी टेलिभिजन च्यानलका सिग्नल चोरेर अरुलाईसमेत बेच्दै मेगा म्याक्स

0
Shares

 टेलिभिजन सेवा प्रदायक कम्पनी मेगा म्याक्स प्रालिले चर्चित विदेशी टेलिभिजन च्यानलका सिग्नल चोरेर आफू प्रसारण गर्ने तथा अरुलाई पनि बेच्ने गरेको खुलेको छ । सिनेम्याक्स, बिबिसी, जुम, एचबिओ, एचबिओ हिट्सजस्ता चर्चित च्यानल चोरेर प्रसारण गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गरेको अनुगमनमा भेटिएको हो ।

मन्त्रालयले होटल भ्यू भक्तपुर तथा अन्य विभिन्न स्थानका स्थानीय केबल अपरेटरहरूमा अनुगमन गर्दा चोरेर टेलिभिजन प्रसारण गरेको पुष्टी भएको हो । मन्त्रालयले सूचना तथा प्रविधि विभागलाई कारबाहीका लागि सिफारिससमेत गरिसकेको छ । 

सामान्यतः विदेशी च्यानल आधिकारिक वितरकमार्फत अथवा सिधै सम्पर्क गरी सम्झौताअनुसार सञ्चारमन्त्रालयको अनुमति लिएर प्रसारण गर्नुपर्ने हुन्छ । तर, विभिन्न माध्यमबाट डाउनलिंक गरी चोर बाटोबाट च्यानल प्रसारण गर्दै आएको रहस्य खुलेको छ । 

मेगा म्याक्सले नेपालका अन्य केबल नेटवर्कहरुलाई समेत चोरेकै च्यानलहरु बेचिरहेको छ । बिसी केबल, पोखरा केबल, गुरूङ केबल, बुटवलको बिबिएन,ओएसएन केबल नेट,बिराटनगरको टि.भि नेट केबललगायतलाई चोरेकै टेलिभिजन सिग्नल पठाउँदै आएको भेटिएको हो । मन्त्रालयमा उजुरी परेपछि तथा अनुगमनका क्रममा चोरी गरेको भेटिएपछि अहिले मेगाले ति च्यानलहरू प्रसारण रोकेको छ । 

आधिकारिक वितरकको करोडौं ठगेपछि चोरी धन्दामा

नेपालमा सिनेम्याक्स, बिबिसी, जुम, एचबिओ, एचबिओ हिट्सजस्ता च्यानलको आधिकारिक विक्रेता युबिपी प्राइम प्रालि हो । एक वर्षअघिसम्म मेगा म्याक्सले युबिपीसँग नै च्यानल किनेर वितरण गर्दै आएको थियो । तर, ६ महिनाको रकम भुक्तानी नगरेपछि मेगा म्याक्सलाई दिएको सिग्नल युबिपी प्राइमले काटिदियो । यो बिचमा मेगा म्याक्स् न त पैसा तिर्न गयो नत सम्झौता नविकरण गर्न । बरु चोरेरै च्यानल देखाउने दाउमा लाग्यो । यसबारे सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा उजुरी पर्यो । मन्त्रालयले अनुगमन गर्दा मेगा म्याक्सले विदेशी टेलिभिजन च्यानलको सिग्नल चोरेको पुष्टी भयो र कारबाहीका लागि सिफारिस भयो । 

आफु चोरेर सेवा दिने, अरूका सिग्नल काट्ने ! 

मेगा म्याक्स त्यही कम्पनी हो, जो सोनी पिक्चर्स, इण्डिया कास्ट मिडिया र डिस्कभरी इन्डिया (सोनी म्याक्स, कलर्स, डिस्कभरीलगायत दर्जनौ च्यानल)को आधिकारिक वितरक कम्पनी डिजिटल सिस्टम अफ नेपालको लगानीकर्ता पनि हो । आफंै वितरक रहेको यस कम्पनीले अर्को एउटा कम्पनीलाई सम्झौता गर्न नआएको र बक्यौता रकम नतिरेको भन्दै केही दिन पहिले दैनिक पत्रिकामा विज्ञप्ती नै जारी गर्यो । आफुले सम्झौता नगर्ने, बक्यौता नतिर्ने र च्यानल बन्द भएपछि चोरी गर्ने तर अरुले भने पैसा नतिरेको भन्दै वक्तव्यबाजी गर्दै हिंड्ने अचम्मको परिपाटी देखाएको भन्दै टेलिभिजन सेवा प्रदायक कम्पनीहरूमा चर्चाको विषय बनिरहेको छ ।

के भन्छन् मेगा म्याक्स्का सञ्चालक ?

चोरीको आरोप लागेका मेगा म्याक्स्का सञ्चालक धु्रव शर्मा भने चोरी गरेको अस्विकार गर्छन् । आफुहरूले गैरकानुनी ढंगले डाउनलिंक गरी टेलिभिजन सिंगल प्रसारण नगरेको उनको दाबी छ । मन्त्रालयको अनुगमनले नै पुष्टि गरिदियो भन्ने प्रश्नमा उनले न्यूजसेवासँग भने ‘ हामीले चोरी गरेको कुनै हालतमा होइन । हामीले सुरुमा युबीपी प्राइमबाटै किनेर ल्याइ एचबिओ, सिनेम्याक्स्,बीबीसी लगायतका च्यानल देखाएका थियौँ । यो बीचमा हामी बिचमा केही व्यवसायिक असमझदारी भए । हामीले बसेर कुरा मिलाउने प्रयास गर्दापनि कुरा मिलेन । मन्त्रालयले अनुगमन गर्दा भेटिएको सिंग्नल युबपीले नै दिएको सिंग्नल हो । उहाँहरुको बक्स हामीसँग थियो । त्यहिबाट सिंग्नल आएको हो । अहिले हाम्रो नेटवर्कमा ति च्यानल आउँदैनन् । हामीले चोरेको कुरा सत्य होइन , युबपीकै सिंग्नल भेटिएको हो मन्त्रालयको अनुमगनमा । 

के भन्छन् त यु्बिपीका सञ्चालक ?

मेगा म्याक्स्का सञ्चालकले युबपीकै सिंग्नल अनुगमनका क्रममा भेटिएको हो भनेपछि हामीले युबिपीका प्रबन्ध निर्देशक राजेश देव प्रधानलाई सोध्यौँ, उनले भने मेगा म्याक्स्ले चोरी गरेर प्रसारण गरेको कुरा हामीले होइन मन्त्रालयले नै पुष्टि गरिसेकेकेको छ । हामीले सुरूमा उनीहरूलाई बक्यौता रकम तिर्नलाई पटक पटक आग्रह गर्यौँ । उनीहरुले पनि भाका माग्दै गए । पटक पटक आग्रक गर्दा पनि रकम भुक्तानी नभएपछि हामीले उनीहरुको सिंग्नल काटिदियौँ । सिंग्नल काटेपछि उनीहरुले सिंग्नल चोरी गरेर विक्रि गरे । चोरी हुन थालेपछि हामीले उजुरी गरेका हौँ । उजुरी गरेपछि अनुगमन गर्दा चोरी गरेको पुष्टि भयो ।  मन्त्रालयले गरेको पुष्टिलाई पनि गलत भन्ने कुरा कसरी हुन सक्छ ? मन्त्रालयले कारबाहीका लागि सिफारिस गरिसकेको छ । उहाँहरुले चोरी गरेको कुरा अब कसैले लुकाएर, छिपाएर लुक्ने कुरा होइन ।