बैंकहरुमा पैसा थुप्रन थालेपछि राष्ट्र बैंकले विहीबार दश अर्ब निक्षेप उठाउने

0
Shares

नेपाल राष्ट्र बैंकले बैंकहरुबाट १५ दिनका लागि निक्षेप संकलन उपकरण मार्फत १० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले साउन १६ गते विहीबार बोलकबोल मार्फत उक्त रकम बैंकहरुबाट उठाउने जनाएको छ ।

बैंकिङ प्रणालीमा ९० अर्ब रुपैयाँभन्दा बढी अधिक तरलता रहेको र त्यसको व्यवस्थापनका लागि बोलकबोलमार्फत १० अर्ब रुपैयाँ निक्षेप उठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु मात्र सहभागि हुन पाउने जनाएको छ । निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाटै तय हुनेछ ।

राष्ट्र बैंकले बिहीबार उठाउने निक्षेप १५ दिन पछि अर्थात साउन ३१ गते ब्याज सहित फिर्ता गर्ने जनाएको छ । साउन १६ गते दिउँसो ३ बजेदेखि अनलाइन बिडिङ गर्नुपर्नेछ ।

बोलकबोल गरेको रकम बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्य नगद मौज्दातमा गण्ना गर्न पाउने छैनन् । तर, तरलता अनुपातमा भने यस्तो रकम राख्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा साउनको दोस्रो सातासम्ममा लगानीयोग्य रकम अर्थात अधिक तरलता ९० अर्ब हाराहारी रहेको छ । सरकारले गत आर्थिक वर्षको बजेट सकाउने गरी गरेको असारे खर्च र बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुलाई कर्जा प्रवाहमा कडाई गर्दा बैंकिङ्ग प्रणालीमा तरलता ह्वात्तै बढेको हो ।

असार अन्तिम सातासम्म वाणिज्य बैंकहरुले २८ खर्ब ६५ अर्ब निक्षेप संकलन गरेर कूल २४ खर्ब ९८ अर्ब कर्जा लगानी गेका छन् । गत आर्थिक वर्षभरी बैंकमा निक्षेप ४ खर्ब ८ अर्ब र कर्जा परिचालन ३ खर्ब ८७ अर्बले बढेको हो।