सेयर बजार परिसूचक ९.९२ अंकले घट्यो


नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक साताको अन्तिम दिन बिहीबार करिब १० अंकले घटेको छ । निरन्तर घट्दो गतिमा देखिएको सेयर बजार सूचक बुधबार समान्य सुधार देखिएको भएपनि बिहीबार पुन घट्ने क्रममा नै देखिएको हो ।

वित्तीय क्षत्रमा आवश्यक मात्रमा नयाँ निक्षेप नथपिनु र ब्याजदर पनि तत्काल सुधार हुने संकेत नदेखिएपछि त्यसको नकारात्मक असर सेयर बजारमा परेको हो । त्यसका साथै पछिल्लो समयमा नेपाल राष्ट्र बैंकवाट सेयर बजारलाइ अप्रत्यक्ष रुपमा असर गर्ने बैंकिङ निर्देशन जारी हुनु तथा अर्थ मन्त्रालय र धितोपत्र बोर्डले पुँजीगत लाभकर गणना सम्बन्धी देखिएको समस्या समाधानलाइ ढिलाइ गर्नुले पनि सेयर लगानीकर्ताको मनोवल कमजोर भएको हो ।
बिहीबार रसुवागढी, साञ्जेन, चिलिमे र अपर तामाकोशीको शेयरमूल्य ओरालो लाग्दा जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै ३१.३५ अंकले घटेको छ । कारोबारमा आएको सबै समुहगत सुचक घटेपछि समग्र बजार सुचक पनि करिब १० अंकले घटेको हो ।
बिहीबार नेप्से परिसूचक बिहीबार ९.९२ अंकले घटेर १२३८.५६ अंकमा झरेको छ । तर, सेयर बजारको कारोबार रकममा भने सुधार आएको छ । यो साताको पहिलो दिन आइतबार १२६३ अंकमा कारोबार खुलेको नेप्से साताभर २५ अंकले घटेर १२३८ अंकमा झरेको हो ।
सूचीकृत कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गरिहेको भएपनि त्यसले सेयर बजार सकारात्मक प्रभाव पार्न सकेन । नेप्सेमा बिहीबार १६६ वटा कम्पनीको १८ लाख ७७ हजार कित्ता शेयर ४५ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन बुधबार ३६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

बिहीबार कारोबारमा भएका २१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै २४ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन ।
बिहीबार रसुवागढी हाइड्रोपावरको शेयरमूल्य घटेर सबैभन्दा धेरै ९ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो भने साञ्जेन जलविद्युतको पनि ५ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । त्यस्तै नेपाल बैंकको २ करोड रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिभिल बैंकको संस्थापक शेयर र कृषि विकास बैंकको पनि १ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।