हिमालयन जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क घट्दा पनि नाफा ४० प्रतिशतले बढ्यो

0
Shares

हिमालयन जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क घटेपनि खुद नाफा ४० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा इन्स्योरेन्सले १९ करोड ८५ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १४ करोड १६ लाख थियो ।

इन्स्योरेन्सको खुद बीमा शुल्कमा भने साढे १७ प्रतिशतको गिरावट छ । अघिल्लो आर्थिक वर्षमा ३२ करोड ८८ लाख खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा २७ करोड ९ लाख मात्र आर्जन गरेको छ ।

इन्स्योरेन्सले पुर्नबीमा कमिशन वापत १५ करोड, लगानी कर्जा तथा अन्य आयबाट ७ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ । इन्स्योरेन्सको अन्य आम्दानीहरु बढ्दा नाफामा भने सुधार देखिएको हो ।

एक अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २५ करोड ५२ रुपैयाँ र बीमा कोषमा ४७ करोड ३० लाख रुपैयाँ सञ्चित छ । विपत्ती कोषमा ३ करोड २८ लाख छ । चुक्ता पूँजी स्थिर रहँदा कम्पनीको जगेडा तथा बीमाकोषमा उल्लेखीय सुधार देखिन्छ ।

कम्पनीले हालसम्म ४६ हजार २०५ वटा बीमालेखबाट एक अर्ब ४५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । १७ करोड ४८ लाख बराबरको दाबी भुक्तानी गरेको छ । कुल दाबी भुक्तानी हुन बाँकी रकम १ अर्ब ४९ करोड ५२ लाख  रुपैयाँ छ ।

यस अवधि सम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३३ पैसा, प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ १० पैसा र मूल्य आम्दानी अनुपात १८.११ गुणा बढी छ ।