एभरेष्ट इन्स्योरेन्सको खुद नाफा ६ करोड, खुद बीमा शुल्क करिब ४ गुणा वृद्धि

0
Shares

एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ३८ करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ९ करोड ६४ लाख रुपैयाँ मात्र खुद बीमाशुल्क आर्जन गरेको थियो। एक वर्ष अवधिमा इन्स्योरेन्सको बीमाशुल्क झण्डै ४ गुणाले बढेको हो।

इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ६ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ५ करोड ४९ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। इन्स्योरेन्सको खुद नाफा अघिल्लो वर्षको तुलनामा ५८ लाख रुपैयाँले बढेको हो।

इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट १० करोड २७ लाख, लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधि सम्ममा इन्स्योरेन्सले ८७ हजार ८८६ बीमालेख जारी गरी ८१ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। ३ हजार २९० दाबी वापत ३४ करोड ३९ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ भने १ हजार ८२४ दाबी वापत ९१ करोड १३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
चुक्ता पूँजी एक अर्ब ४ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १४ करोड ११ लाख रुपैयाँ, २२ करोड ७२ लाख रुपैयाँ बीमा कोषमा सञ्चित छ।

गत आर्थिक वर्षको असार मसान्त सम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८३ पैसा, प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ३३ पैसा र मूल्य आम्दानी अनुपात ६२.६१ गुणा छ।