सिभिल बैंकको वितरण योग्य नाफा ५५ करोड


सिभिल बैंकको गत आर्थिक वर्षको वितरण योग्य नाफा ५५ करोड ६९ लाख रुपैयाँ छ । वितरण योग्य नाफा अनुसार बैंकले सेयरधनीलाई शेयरधनीलाई अधिकतम ७ प्रतिशत मात्र लाभांश बाँड्न सक्ने क्षमता राख्दछ ।

यस अवधिमा बैंकले ७६ करोड ४ लाख रुपैयाँ खूद नाफा गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २०.७२ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षअवधिमा बैंकको नाफा ६२ करोड ९९ लाख रुपैयाँ थियो ।

बैंकले अघिल्लो आवको तुलनामा ब्याज आम्दानी तथा सञ्चालन मुनाफामा भएको सुधारले बैंकको नाफामा बढोत्तरी आएको हो । बैंकले एक वर्ष अवधिमा ५६ प्रतिशतले खुद ब्याज आम्दानी बढाएर दुई अर्ब २० करोड २२ लाख आर्जन गरेको छ । बैंकको कर्मचारी खर्च ४० प्रतिशतले तथा अन्य खर्च शिर्षक बढ्दा बैंकको सञ्चालन नाफा एक अर्ब २१ करोड १९ लाख गरेको छ ।

असार मसान्तसम्म बैंकको निक्षेप संकलन २२.७३ प्रतिशतले बढेर ४२ अर्ब पुगेको छ भने कर्जा लगानी ११.६१ प्रतिशतले वृद्धि हुँदा ४२ अर्ब ६९ करोड कर्जा परिचालन गरेको हो । आठ अर्ब ३३ लाख चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ३१ करोड र शेयरधनी कोषमा ६२ करोड ८१ लाख रुपैयाँ सञ्चित छ ।

यस्तै बैंककोे २.६४ प्रतिशतमा खराब कर्जाको अनुपात छ । कोषको लागत घटेर ८.४५ प्रतिशत कायम भएको छ भने बैंकको आधार दर घटेर ११.११ प्रतिशतमा झरेको छ ।
नाफामा भएको सुधारले बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५० पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १२७.९८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.६३ गुणा कायम भएको छ ।