‘ब्रेक्जिट’ मन्त्रीद्वारा सम्पूर्ण इयू कानूनको अन्त्य गर्ने निर्देशनमा हस्ताक्षर


‘ब्रेक्जिट’ मन्त्री स्टेफन बार्कलेले सम्पूर्ण यूरोपेली कानूनलाई बेलायतमा खारेज गर्ने एक निर्देशनमा हस्ताक्षर गरिसकेका छन ।

उक्त नयाँ निर्देशन आगामी अक्टोबर ३१ देखि लागू हुनेछ । यूरोपेली संघबाट बेलायतको बहिर्गमन हुने मिति नजिकिँदै जाँदा उक्त मितिपछि बेलायत इयूको सदस्य नरहने अवस्थामा उक्त कानूनलाई निलम्बन गर्ने निर्देशन भएको हो ।

सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बेलायतले इयूको सदस्य बने (सन् १९७२) देखि मान्दै आएको उक्त कानून (इयूसँग सम्बद्ध संसदीय ऐनलाई) लाई नयाँ कानूनी प्रक्रियाको शुरूवात गर्न औपचारिकरूपमा खारेज गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको छ ।”

यूरोपेली समुदाय ऐन १९७२ इयूको कानून निर्माण गर्ने ब्रसेल्सस्थित निकाय (यूरोपेली संसद) प्रति जवाफदेही रहेर बेलायतमा इयूसम्बद्ध नियम तथा कानूनको स्थापना र नियमनका बनाइएको कानून हो ।

मन्त्रीको निर्देशनसँगै पत्रमा तोकिएको मिति (अक्टोबर ३१)देखि बेलायतमा यूरोपेली समुदाय ऐन १९७२ खारेज हुनेछ भने यसको स्थानमा ‘यूरोपियन यूनियन विदड्रअल एक्ट’ कार्यान्वयनमा आउने छ ।