नेप्सेको शेयरधनी बन्ने अन्तिम मौका, एक अर्ब ७८ करोडको शेयर बिक्रीमा

0
Shares

नेपाल राष्ट्र बैंकले नेप्सेमा रहेको लगानी फिर्ता गर्न आफ्नो स्वामित्वको शेयर बिक्री गर्न टेन्डर आह्वान गरेको टेन्डरमा आवेदन दिने भदौ २ गते आज अन्तिम दिन हो।

नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको ३४.६० प्रतिशत शेयर बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकले प्रति शेयर १०० रूपैयाँ अंकित दरका १७ लाख २९ हजार ९ सय ८९ कित्ता शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको हो।

बैंकले बिक्री गर्न लागेको शेयरको प्रिमियमसहितको न्यूतनम मूल्य प्रतिशेयर एक हजार ३२ रूपैयाँ तोकिएको छ। यस आधारमा कूल शेयरको मूल्य एक अर्ब ७८ करोड ५३ लाख ४८ हजार ६ सय ४८ रूपैयाँ बराबर हुनेछ।

नेप्सेको शेयर किन्न चाहनेले भदौ २ गतेभित्र आवेदन दिइसक्नुपर्ने। शेयर खरिदकर्ता बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्था हुनुपर्ने छ ।

शेयर खरिदका लागि आवेदन गर्दा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको कूल शेयर पूँजीको कम्तीमा पाँच प्रतिशत र बढीमा १० प्रतिशतसम्म हुने गरी प्रस्ताव पेस गर्नुपर्नेछ । तोकिएको वा सोभन्दा बढी मूल्य अंकित गरेरसमेत आवेदन दिन सकिने बैंकले जनाएको छ।

आवेदकको बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत सङ्गठित संस्थाले आफ्नो संस्थाको दर्ता प्रमाणपत्र, कर्जा सूचना केन्द्र लिमिटेडको कालो सूचीमा समावेश नभएको प्रमाणित हुने कागजात, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी, शेयर खरीद गर्ने सम्बन्धी सम्बन्धित संस्थाको सञ्चालक समितिको निर्णयको प्रतिलिपि र आवेदक संस्थाका सञ्चालक तथा प्रमुखको व्यावसायिक विवरणसमेत पेस गर्नुपर्ने छ।

प्राप्त आवेदन आगामी भदौ ४ गते बिहान केन्द्रीय बैंकको वित्तीय व्यवस्थापन विभागमा खोलिनेछ। बोलपत्र पेस गर्नका लागि नेपाल स्टक एक्स्चेन्जबाट घोषणा हुने लाभांश शेयर तथा लाभांश प्रस्तावित खरीद कर्ताले प्राप्त गर्नेछन्।

बैंकका अनुसार शेयर खरीद बिक्रीको अन्य प्रक्रिया प्रचलित कानुनअनुसार हुने सूचनामा उल्लेख छ। खरीद कर्ताले आफूले खरीद गर्न चाहेको शेयरको प्रस्तावित कूल मूल्यको पाँचदेखि १० प्रतिशतसम्मको रकम केन्द्रीय बैंकको खातामा जम्मा गर्नुपर्ने छ।

केन्द्रीय बैंकले लामो समयदेखि नै स्टकको शेयर बिक्री गर्ने घोषणा गरेको थियो। उक्त घोषणालगत्तै सम्पत्ति र शेयर संरचनाको मूल्याङ्कनसमेत गरिएको थियो। सोही आधारमा प्रिमियमसहितको शेयर मूल्य तोकिएको बैंकले जनाएको छ। वित्तीय क्षेत्र विकास रणनीति र नेपाल राष्ट्र बैंक ऐनअनुसार नै शेयर बिक्री गर्न लागिएको हो।

नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ३४.६० प्रतिशत, एनआईडीसीको ६.१२ प्रतिशत र ब्रोकरको ०.६२ प्रतिशत शेयर हिस्सा रहेको छ।