सुनको मूल्य ह्वात्तै बढ्दा खस्कियो कारोबार, तोलाको ७३ हजार ५ सय पुग्दा नयाँ रेकर्ड

0
Shares

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएर नयाँ रेकर्ड बनाएको छ । चाडपर्व नजिकँदै गर्दा सुनको माग बढ्ने भएपछि सुनको भाउ ह्वात्तै बढेपछि कारोबार खस्किएको व्यवसायीहरुको भनाई छ ।

सोमबार एकैदिन छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५०० रुपैयाँमा पुगेको छ। यस्तै तेजाबी सुन प्रतितोला ७३ हजार २०० रुपैयाँमा पुगेको छ।

अघिल्लो दिन मात्र सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ बढेको थियो । सोमबार चाँदीको मूल्यमा समेत प्रतितोला १० रुपैयाँले बढेर ८६० रुपैयाँ पुगेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

एक महिना यता सुनको भाउ तोलकै करिब दश हजार रुपैयाँले बढीसकेको छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढेपछि नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर बढीरहेको छ । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ दिनप्रतिदिन आकासिँदै गएको हो ।

सुनको मूल्य बढेपछि बजारमा क्रेता भन्दा बिक्रेता बढेका छन भने सुनको कारोबार समेत घट्न थालेको छ । दैनिक २० किलोसम्म सुन खपत हुने बजारमा मुस्किलले दश किलो पनि कारोबार हुन नसकेको व्यवसायीहरु बताउँछन् । कारोबारमा कमी आएपछि व्यवसायी तथा कालीगढहरु समस्यामा पर्न थालेका छन् ।