सामुदायिक लघुवित्तले घोषणा गर्यो आकर्षक बोनस, ५० प्रतिशत हकप्रद पनि

0
Shares

गत आर्थिक बर्ष आईपीओ निष्काशन गरेको लघुवित्तले आकर्षक लाभांशसँगै हकप्रद निष्काशनको प्रस्ताव गरेको छ।

लघुवित्तको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ३४.४५ प्रतिशत बोनस शेयर तथा करका लागि १.८१ प्रतिशतगरी कुल ३६.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साथै कम्पनीले बोनश वितरणपश्चात दुई बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत गरेको छ ।

कम्पनीले ३ करोड ४४ लाख ५० हजार रुपैयाँ बराबरको बोनस र करका लागि १८ लाख १० हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

लघुवित्तले गत मंसिरमा ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपिओ निष्काशन गरेको थियो । आईपिओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी दश करोड रुपैयाँ पुगेकोे छ । बोनसपछि कम्पनीको चुक्तापूँजी १३ करोड ४४ लाख नाघ्नेछ । हकप्रदपछि चुक्तापूँजी २० करोड १६ लाख पुग्नेछ ।

गत आर्थिक बर्षमा २ करोड ४४ लाख ४० हजार रुपैयाँ कमाएको कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ४४ पैसा छ ।