मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मंगलबार ओली र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने

0
Shares

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले यहि मंगलवार संयुक्त रूपमा गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट संयुक्त रूपमा पाइपलाइन उद्घाटन गर्ने भारतीय महावाणिज्य दूतावासले बताएको छ ।

अमलेखगञ्ज र मोतिहारीमा स्क्रिनमा यसको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
२०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा स्वीच थिचेर यसको शिलान्यास गरेका थिए । गत असारमा पाइपलाइनको काम सकिएको थियो ।

भारत तथा नेपाल सरकारको ४ अर्ब ४० करोड रुपैयाँ लागतमा निर्मित पाइपलाइन ६९ किमी छ । जसमा नेपालतर्फ ३७ र भारततर्फ ३२ किलोमीटर पर्छ । प्रतिघण्टा २ सय किलोलीटर पेट्रोलियम ल्याउन सकिने एनओसीले बताएको छ । पाइपलाइन सञ्चालनबाट वार्षिक २ अर्ब रुपैयाँ खर्च बचत हुने बताइएको छ ।