भाषणमा चल्ने शेयरबजार : अर्थमन्त्रीको सकारात्मक अभिव्यक्तीले उछाल

0
Shares

निरन्तर आठ कारोबार दिन ओरालो लागेको शेयरबजारमा नवौं दिनमा एकाएक उछाल आएको छ । आइतबार र सोमबार लगातार दोहोरो अंकले झरेको नेप्से मंगलबार एक्कासी २७ अंकले उकालो लागेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा लगानीको उपयुक्त समय आएको बताएकै दिनमा बजारको रुप नै बदलिएको छ । दैनिक राताम्मे हुँदै आएको बजारमा एक्कासी हरियाली छाएको छ ।

कर्मचारी सञ्चय कोषको ५८ औं वार्षिकोत्वसका क्रममा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले शेयर बजारमा लगानी बढाउन आह्वान गरेका थिए । बैंकिङ्ग तथा वित्तीय संस्थाहरू नाफा बढेको, आर्थिक वृद्धिमा सुधार भएको र करको समस्या समाधान भएकाले शेयर बजारमा लगानीको उपयुक्त अवसर भएको बताएका थिए । 

अर्थमन्त्रीले यस अघि विभिन्न सार्वजनिक फोरमहरुमा देशको अर्थतन्त्र सुधारउन्मुख रहेको, करका समस्याहरु समाधन हुने क्रममा रहेको, बैंक तथा बिमा क्षेत्रको विस्तार र नाफा बढेको तर शेयर बजारमा मात्र समस्या रहेको बताइरहदा बजारले उल्टो गति लिएको थियो ।

तर सबै कुरा यथावत रहकै अवस्थामा अर्थमन्त्रीले लगानीको राम्रो अवसर बताउन साथ बजारमा देखिएको यस प्रकारको उछाल भने क्षणिक हुनसक्ने सम्भावना देखिन्छ ।

विगतका उदारणहरु हेर्दा पनि भाषणबाजीका भरमा शेयर बजारमा तिब्र उतारचढा हुने गरेका घटना प्रशस्त देखिन्छन् । यसले शेयर बजारका धेरैजसो लगानीकर्ता कम्पनीको प्रगति विवरणमा भन्दा पनि बजार हुईया र भाषणबाजीमा चल्ने गरेको बुझ्न सकिन्छ । भाषण भरमा बजारमा हुने यस्तो तिब्र उतारचढाबले हाम्रो बजार परिपक्क भईसकेको छैन कि त लगानीकर्ता नै अपरिपक्क छन भन्ने आँकलन गर्न कठिनाई हुँदैन ।

मंगलबार नेप्से २६.९१ अंकले बढेर ११५०.७४ अंकमा पुगेको छ । १७१ कम्पनीको १३ लाख ७७ हजार ९४६ कित्ता शेयर ३८ करोड ३९ लाख रुपैया बराबरमा किनबेच भयो ।

म्युचुअल फन्डबाहेक कारोबार आएका बाँकी सबै समूहका सूचक बढेका छन् । कारोबार रकममा सिद्धार्थ बैंक अग्रस्थानमा छ । यसको ३ करोड ४९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो सिद्धार्थले मंगलबार लाभांश प्रस्ताव गरेपछि लगानीकर्ता झुम्मिएका हुन् । सिद्धार्थले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

यसदिन शिवम् सिमेन्ट लिमिटेड, गुराँश लघुवित्त वित्तीय संस्था, अपी पावर कम्पनी लिमिटेड र राधी विद्युत् लगायतका कम्पनीको शेयर मूल्य बढेको छ।  १३८ वटा कम्पनीको शेयर मूल्य बढ्दा १३ वटाको भने घटेको छ। बजारमा उछाल आएको दिन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ५ प्रतिशतले घटेको छ।

शेयर बजारप्रति अनुदारको ट्याग पाएका अर्थमन्त्रीले शेयर मूल्य सुधार हुनु पर्ने बताउदा बढेको बजार कति टिकाउ हुने हो भन्नेमा भने आशंका देखिन्छ।