हुवावेईको प्रो स्मार्टफोनले आइफोन ११ लाई चुनौती दिने कम्पनीको विश्वास

0
Shares

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेईले मेट ३० र मेट ३० प्रो स्मार्टफोन बजारका लागि सार्वजनिक गरेको छ । 

हुवावेईले एप्पलको आईफोन ११ लाई आफ्ना यी दुई मोडलले चुनौती दिने विश्वास व्यक्त गरेको छ । कम्पनीले अहिले सार्वजनिक स्मार्टफोन निकै गुणस्तरीय, क्यामेरा र स्क्रीनको सम्बन्धमा अब्बल रहेको दाबी गरेको छ ।

हुवावेईका प्रमुख व्यापार अधिकारी रिचार्ड यूले जर्मनीको म्युनिखमा उक्त स्मार्टफोन सार्वजनिक गरेका हुन् ।

यी स्मार्टफोन हुवावेईमाथि अमेरिकाले प्रतिबन्ध लगाएसँगै गत मेमा पहिलोपटक सार्वजनिक गरिएका थिए । यूले हुवावेईले विभिन्न समस्या तथा चुनौतीको सामना गर्दै फाइभजी नेटवर्क चल्ने यी स्मार्टफोन बजारमा ल्याएको बताए ।

अमेरिकाले हुवावेईका उत्पादनमा राष्ट्रिय सुरक्षाको जोखिम रहेको भन्दै उसलाई आफ्ना उत्पादन विक्रीमा अमेरिकी कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्धमा कडाइ गरेसँगै हुवावेईले आफ्नो व्यापारमा १० अर्ब डलरको प्रभाव पर्ने बताइसकेको छ ।

कम्पनीका स्मार्टफोनमा गूगलको एप तथा एन्ड्रोइड अपरेटिङ सिस्टम चल्ने वा नचल्ने भन्नेबारे चलिरहेको आशंकाबीच यी स्मार्टफोन सार्वजनिक भएका हुन् । स्रोतका अनुसार मेट ३० एन्ड्रोइडको ओपन सोर्स भर्सनमा मात्र चल्नेछ । यसमा अहिले अनुमतिप्राप्त नयाँ भर्सन भने चल्नेछैन । एजेन्सी