विदेशमा रहेका नेपालीलाई म्यादी बीमाको शुल्क अनलाइन मार्फत बुझाउने व्यवस्था गर्न निर्देशन

0
Shares

बीमा समितिले चार जीवन बीमा कम्पनीलाई अनलाईन मार्फत बीमाको प्रिमियम शुल्क भुक्तान गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ । बैदेशिक रोजगार बीमा पुलमा काम गरिरहेका चार कम्पनीलाई समितिले यस्तो निर्देशन दिएको ।

नेशनल लाईफ इन्स्योरेन्स, सूर्या लाईफ इन्स्योरेन्स, युनियन लाईफ इन्स्योरेन्स र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सलाई विदेशस्थित नेपाली कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिँदा अनलाईनबाटै बीमाको प्रिमियम शुल्क लिने व्यवस्था गर्न निर्देशन दिएको समितिका प्रमुख कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

सरकारले विदेशस्थित नेपाली कुटनीतिक नियोगमार्फत पनि नेपाली श्रमिकको पुनः श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको छ । पुनः श्रम स्वीकृति गर्दा अनिवार्य गरिएको म्यादी बीमाको शुल्क बुझाउने प्रक्रिया सहज गराउन अनलाइन व्यवस्था गर्न यस्तो निर्देशन दिएको हो ।

अनलाइनको सुरुवात भएसँगै विदेशमा रेहका नेपाली कामदारहरुले अब भिषाको म्याद थप्न र पुनः श्रम स्वीकृतिको लागि नेपाल आउनै पर्ने बाध्यता हट्नेछ ।
बीमा समितिले गत माघ १७ गते जीवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै म्यादी जीवन बीमालाई व्यवस्थित बनाउन पुल प्रणालीको व्यवस्था गरेको थियो।