दशैं खर्च भित्रदाँ असोज पहिलो सातामा थपियो २० अर्ब निक्षेप

0
Shares

दशैंँ तिहार र छठ लगायतका ठूला चाडपर्वहरु नजिकिएसँगै वाणिज्य बैंकहरुको निक्षेपमा २० अर्ब रुपैयाँले सुधार भएको छ। विदेशमा रहेका नेपालीहरुले आफ्ना आफन्तहरुलाई दशैं तिहार खर्च वापत रेमिट्यान्स पठाउँदा वाणिज्य बैंकको निक्षेपमा असोज पहिलो साता सुधार देखिएको हो।

अघिल्लो साताको तुलनामा भदौ अन्तिम साता एक अर्बले घटेको निक्षेप असोज पहिलो सातामा भने २० अर्ब बढेर २८ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको हो। भदौ अन्तिम साता बैंकहरुमा २८ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो।

दशैंँ तिहार र छठ लगायतका ठूला चाडपर्वहरु नजिकिँदै गर्दा बैंकहरुको कर्जा प्रवाहको आकार पनि बढ्दै गएको छ। असोज पहिलो साता वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ बराबरले कर्जा प्रवाह बढाएका छन्। भदौ अन्तिम सातासम्म बैंकहरुले २५ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेकोमा असोज पहिलो सातामा बढेर २५ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको हो।

असोज पहिलोे साता मात्रै बैंकहरुले २० अर्बले निक्षेप बढाएका छन् भने ११ अर्बले कर्जा विस्तार गरेका छन्। भदौ अन्तिम साता बैंकहरुको निक्षेप एक अर्बले घटेकोमा १२ अर्बले कर्जा विस्तार भएको थियो।

दशैं तिहार जस्ता ठूला चाडमा सवारी सहित अन्य कर्जा प्रवाह हुने हुँदा निक्षेप वृद्धिसँगै कर्जाको माग पनि बढी हुने गरेको छ । बढ्दो रेमिट्यान्स आप्रवाहले बैंकहरुको कर्जा प्रवाहलाई थोरै भएपनि राहत प्रदान गरेको छ।

चालु आर्थिक वर्ष सुरु भएयता बैंकहरुको निक्षेपको तुलनामा कर्जा विस्तार ८ गुणा बढीले वृद्धि भएको देखिएको छ । असार अन्तिम साताको तुलनामा असोज पहिलो साता बैंकिङ्ग प्रणालीमा ८ अर्ब रुपैयाँले मात्र निक्षेप बढेको छ भने कर्जा विस्तार ६४ अर्ब रुपैयाँले बढेको छ।

असार अन्तिम साता वाणिज्य बैंकहरुको कूल निक्षेप २८ खर्ब ७८ अर्ब रहेकोमा असोज पहिलो साता २८ खर्ब ८६ अर्ब रहेको छ भने कर्जा लगानीतर्फ २४ खर्ब ९८ अर्बबाट बढेर २५ खर्ब ६२ अर्ब प्रवाह भएको बैंकर्स संघले जनाएको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुदेखि जति अवधिको लागि निक्षेप संकलन भएको छ सोही अवधिका लागि मात्रै कर्जा प्रवाह गर्न पाउने व्यवस्थाले भने बैंकहरुलाई अधिक कर्जा प्रवाहमा लगाम लागेको छ ।  तर अर्कोतर्फ यस अवधिमा आधिकाशं बैंकहरुले दीर्घकालीन अवधिको ऋणपत्र निष्काशन गरेका छन्। ऋणपत्र मार्फत संकलन गरेको पूँजी बैंकहरुले लगानी गर्दा पुँजी, कर्जा निक्षेप अनुपातमा गणना नगरी सबै रकम कर्जा लगानी सक्छन्।

त्यसैगरी गैर आवसीय नेपालीको विदेशी मुद्रामा पनि बैंक खाता खोल्न सक्ने र त्यसरी खोलिएको खातामा भएको निक्षेपबाट पनि शतप्रतिशत लगानी गर्न सक्ने व्यवस्थाले बैंकहरुलाई लगानी बढाउन वैकल्पिक माध्यम समेत बनेको छ।