साउनमा १० बाणिज्य बैंक नोक्सानीमा, एक महिनाको कुल नाफा २ अर्ब

0
Shares

-सुरेन्द्र थापा।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सञ्चालनमा रहेका २८ बाणिज्य बैंक मध्ये १० वटा नोक्सानीमा छन् । आर्थिक वर्ष सुरु भएको पहिलो महिनामा बैकहरु नाफा बुक गर्ने भन्दा पनि लगानी विस्तार गर्न केन्द्रित हुने भएकाले नोक्सानीमा गएका हुन ।

बैंकहरुले आर्थिक वर्षको पहिलो महिना देखि तेस्रो महिनासम्ममा आक्रमक भएर लगानी गर्ने गर्छन ।

बैंकहरुले गत आर्थिक वर्षको अन्तिममा २४ खर्ब ९८ अर्ब कर्जा प्रबाह गरेको थिए । तर, चालु आवको साउनको पहिलो साता त्यो घटेर २४ खर्ब ८५ अर्बमा झरेको थियो ।

साउनको दोस्रो सातादेखि बैंकहरु कर्जा लगानी वढाएर अन्तिम सातासम्ममा २२ अर्ब कर्जा लगानी गरेका थिए । त्यसपछि बैंकहरुको क्रमस निक्षेप घट्ने र कर्जा लगानी वढेको देखिन्छ । बैंकहरुले लगानी गरेको कर्जाको ब्याज आम्दानी पनि सुरु भैनसक्ने भएकाले पनि नाफा नदेखिएको एक बैंकरले बताए । तर, पनि धेरै बैंकहरुले भने नाफा गरेका छन् ।

बैंकहरुले सो अवधीमा पुरानो कर्जाको नविकरण गर्ने तथा नयाँ कर्जा प्रबाह गर्ने गर्छन । त्यसैको भरमा हुने आम्दानीवाट बैंकहरुले २ अर्ब १४ करोड खुद नाफा गरेका छन । साउन महिनामा बैंकहरुको औसत निक्षेपको ब्याजदर ६.७७ प्रतिशत रहेको छ भने कर्जाको औसत ब्याजदर १२.०९ प्रतिशत रहेको छ ।
बैंकहरुको कर्जा तथा निक्षेपको ब्याजदर अन्तर घटाउनु पर्ने तथा स्प्रेड गणना गर्दा सरकारी सुरक्षण कोषमा गरेको लगानीको प्रतिफललाई गणना गर्न नपाउने व्यवस्थाले पनि नाफामा केही असर गरेको हो ।

त्यसैगरी आधार ब्याजदर गणना गर्दा रिटर्न अन एसेटलाइ आधार दर गणना गर्दा समावेस नगराउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । सो व्यवस्था अनुसार बैंकहरुको आधार ब्याजदर ०.७५ प्रतिशत घटेको छ ।चालु आर्थिक वर्षको साउन महिनामा बैंकहरुको आधार ब्याजदर ९.४५ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

                              चालु आर्थिक बर्षको पहिलो महिनामा नोक्सानमा रहेका बैंकहरु

(स्रोत नेपाल राष्ट्र बैंक)

साउन महिनामा सबैभन्दा धेरै नाफा गर्नेमा सरकारी लगानी रहेको राष्ट्रिय बाणिज्य बैंकले ९१ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको पहिलो महिनामा नै करिब एक अर्ब नाफा गरेको हो ।

सो अवधिमा सबैभन्दा थोरै नाफा गर्नेमा सिटिजन्स बैंक रहेको छ । बैंकले चालु आर्थिक वर्षको साउनमा ११ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
सो अवधिमा सबैभन्दा धेरै नोक्सानीमा सरकारी लगानी रहेको नेपाल बैंक रहेको छ । चालु आवको पहिलो महिनामा बैंक ४३ करोड ५८ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । त्यसैगरी नीजि क्षेत्रको कुमारी बैंक पनि ४३ करोड ३८ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।

            चालु आर्थिक बर्षको पहिलो महिनामा नाफामा रहेका बैंकहरु (रकमलाई दश लाखमा देखाइएको छ )

(स्रोत नेपाल राष्ट्र बैंक)

चालु आवको पहिलो महिनामा सेञ्चुरी कमर्सियल बैंक, एनसीसी बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बंगलादेश बैंक, जनता बैंक, लक्ष्मी बैंक, सिभिल बैंक र एनआइसी एसिया बैंक नोक्सानीमा रहेका छन ।