घटस्थापनादेखि विपन्न जेष्ठ नागरिकलाई हवाइ भाडामा ५० प्रतिशत छुट


हवाई सेवाप्रदायक कम्पनीहरुले विपन्न जेष्ठ नागरिकहरुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेका छन् । हवाईसेवा प्रदान गर्ने सदस्य वायुसेवा कम्पनीहरुको छाता संगठन यस वायुसेवा संचालक संघले सरकारसँगको विगतको छलफलका आधारमा यही घटस्थापनाका दिनदेखि विपन्न जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

संघका अनुसार गत भदौ १० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रमुख प्राथमिकताका कार्यक्रम ०७६/०७७ को बुदाँ नं.५९ मा ७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडमा ५० प्रतिशत छुट दिने गरी सरोकारवालासँग छलफल गरी तीन महिना भित्र कार्यान्वयन गर्ने घोषणा भएको थियो । सोही घोषणा अनुरुप असोज ९ गते बिहीबार बसेको संघको बैठकले छुट दिने निर्णय गरेको संघले जनाएको छ ।

वैठकले संघका सदस्य आन्तरिक उडानका वायुसेवा कम्पनीहरुबाट ७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संघका अनुसार ७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकले हवाई भाडामा ५० प्रतिशत छुट पाउनका लागि सम्वन्धित वायुसेवा कम्पनीको कार्यालय पुगेर आफैंले विपन्न भएको व्यहोरा स्व घोषणा गर्नु पर्नेछ । उक्त छुट सुविधा अप्पर लिमिटको हवाई भाडादरमा मात्र लागु हुने बताइएको छ । टंक रुटमा हवाई सेवा संचालन गर्ने वायुसेवा कम्पनीहरुले प्रतिदिन प्रति सेक्टरमा २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र छुट दिने संघले जनाएको छ । स्टल रुटमा हवाई सेवा संचालन गर्ने वायुसेवा कम्पनीहरुले प्रतिदिन प्रति सेक्टरमा १ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलव्ध गराउने छन् ।