घट्दो बजारमा दशैंले झनै सेयरको आपुर्ति वढायो


निरन्तर घट्दो क्रममा रहेको सेयर बजार चाडावाड नजिकिदै गर्दा थप प्रभावीत भएको छ । चाडबाडका लागि सेयर बिक्री गर्ने क्रम वढेपछि धितोपत्र आपुर्ति वढ्न गइ बजार थप घट्नका लागि मद्दत पुगेको हो ।

गत मंगलबार देखि निरन्तर घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक यो साताको पहिलो दिन आइतबार पनि ४.६६ अंकले घटेको छ । सेयर बजारमा नयाँ लगानीकर्ताले अवसर नदेख्ने र पुराना लगानीकर्ताले खर्चको जोहो गर्नका लागि सेयर बिक्री गर्दा बजार परिसुचक घटेको हो । त्यती मात्र नभै कतिपय लगानीकर्ता नोक्सानी कम गरेर बजार बाट निष्कासने क्रम पनि हावी भएपनि बजार सुचक सकरात्मक हुन नसकेको हो ।
आइतबार नेप्सेका कारोबार भएका अधिकांश समुहगत परिसूचक घटेका छन । नेप्सेका कारोबार भएका ७७ कम्पनीहरुको सेयर मूल्य घटेपछि समग्र बजार सुचक ओरालो लागेको हो । नेप्सेमा कारोबारमा आएका ४७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २९ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । आइतबार बैंकिङ्ग, बीमा, उत्पादन लगायत ९ समहु घटेपटि नेप्से सूचक ४.६६ अंकले घटेर ११२५.१४ अंकमा झरेको छ ।
आइतबार नेप्से परिसुचक घटेको भएपनि कारोबार रकममा भने केही सुधार आएको छ । नेप्सेमा १५६ वटा कम्पनीको २४ करोड १४ लाख रुपैयाँ बरावरको ९ लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम गत साताको नेप्सेका कारोबार हुने अन्तिम दिन बिहीबारको तुलनामा धेरै हो । गत बिहीबार नेप्सेमा २१ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार प्रभु बैंकको सबैभन्दा धेरै ३ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो भने सानिमा बैंकको पनि २ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै बैंक अफ काठमाण्डूको संस्थापक सेयरको २ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भयो भने नेपाल लाइफ इन्स्योरेन्सको १ करोड २३ लाख, कृषि विकास बैंकको ९६ लाख, शिबम सिमेन्टसको ९० लाख र एनआइसी एशिया बैंकको ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।