नेपाल सरकारले असोज २६ गते आइतबार सार्वजनिक विदा दिने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमणमा ट्राफिक व्यवस्थापनालाई सहज बनाउन आइतबार बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयको प्रस्तावमा बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले चिनियाँ राष्ट्रपति सि को स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय सरकारले गर्ने गरेको छ। सरकारले यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा समेत सार्वजनिक विदा दिएको थियो ।
दुई दिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी शनिबार ४ बजे नेपाल आउँदैछन् । भ्रमणमा नेपालसँग द्विपक्षीय ‘कनेक्टिभिटी’ लगायत भौतिक पूर्वाधारका विषयमा छलफल हुने बताइएको छ।
नेपालको दुईदिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी आइतबार नै स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया