नेपाल टेलिकमले घटायो इन्टरनेट लिज लाइनको शुल्क

0
Shares

नेपाल टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटाएको छ। टेलिकमले यहि कात्तिक १ गतेदेखि लागू हुने गरी लिज लाइनको शुल्क घटाइएको जनाएको छ ।

टेलिकमले पहिले न्यूनतम ५१२ केबीपीएसदेखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकोमा अब न्यूनतम २ एमबीपीएस क्षमतामा सेवा उपलब्ध गराइने जनाएको छ।

यसअघि १ देखि १० एमबीपीएस ब्याण्डविथ रेन्जको महसुल दर प्रतिएमबीपीएस ४ हजार २ सय रुपैयाँ रहेकोमा अब २ देखि २० एमबीपीएसको व्याण्डविथ रेन्जको महसुल दर प्रति एमबीपीएस २ हजार ५ सय रुपैयाँ मात्र कायम गरिएको छ।

त्यसैगरी पहिले ११ देखि १०० एमबीपीएस ब्याण्डविथ रेन्जको प्रतिएमबीपीएस ४ हजार रुपैयाँमा उपलब्ध गराइरहेकोमा अब २१ देखि ५० एमबीपीएस ब्याण्डविथ रेन्जको प्रतिएमबीपीएस २ हजार ३ सय रुपैयाँमा र ५१ देखि १०० एमबीपीएस रेन्जको प्रतिएमबीपीएस मात्र २ हजार १ सय रुपैयाँमा उपलब्ध गराइनेछ।

पहिले १०० एमबीपीएसभन्दा माथिका लागि प्रतिएमबीपीएस ३ हजार ८ सय रुपैयाँ महसुल दर तोकिएकोमा अब यो प्रतिएमबीपीएस १ हजार ९ सय रुपैयाँमै उपलब्ध हुनेछ। कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत् रहेको छ।