दशैंका पैसा फिर्ताभएपछि बैंकहरुमा निक्षेप उच्च


चालु आर्थिक वर्षको तेस्रो महिना असोज मसान्तको अन्तिम सातामा मात्र बैंकिङ प्रणालीमा ४७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । दशैंका लागि बाहिरीएको रकम फिर्ता हुनुका साथै चालु आर्थिक वर्षको पहिलो त्रैमासको ब्याज आम्दानी समेत थपिएपछि निक्षेप बढेको हो।

असोजको अन्तिम सातामा बैंकिङ प्रणालीमा ४७ अर्ब निक्षेप थपिएको छ भने २३ अर्ब रुपैयाँ कर्जा प्रबाह भएको छ । असोजको अन्तिम साता देखिनै बैंकहरुले कर्जा प्रबाहमा कमी गरेको संकेत देखिएको छ । चाडवाडको समयमा भएकाले पनि कर्जा प्रबाह कमी आएको हुन सक्छ । असोजको अन्तिम सातामा आएर बैंकहरुले लिएको निक्षेपमा करिब ३८ अर्ब रुपैयाँ कर्जा प्रबाह गर्न सक्ने अवस्था भएपनि २३ अर्व रुपैयाँ मात्र कर्जा दिएका छन् । बैंकहरुले पुँजी, कर्जा तथा निक्षेप अनुपात(सीसीडी) रेसियो ८० प्रतिशत हाराहारीमा यस अघि नै पुगेको हुनाले असोज अन्तिमको निक्षेपको तुलनामा कर्जा न्यून भएको एक बैंकरले बताए ।

तर, चालु आर्थिक वर्षको पहिलो त्रैमासलाइ हेर्दा बैंकहरुले ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १२८ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । पहिलो त्रैमासमा बैंकहरुले निक्षेप संकलन भन्दा धेरै कर्जा प्रबाह गरेका छन ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १३५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका थिए ।

आर्थिक वर्षको पहिलो त्रैमासमा बैकहरुले निक्षेपको दोब्बर भन्दा धेरै कर्जा प्रबाह गर्न सक्नुको कारण भने अघिल्लो आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च वढ्ने भएकाले बैंकहरुसंग निक्षेप वढेको हुन्छ । त्यसको मद्दतले बैंकहरुले निक्षेपलाइ भन्दा कर्जा विस्तारलाई महत्व दिने गर्छन । त्यसका साथै बैंकहरुले आर्थिक वर्षको पहिलो त्रैमासमा धेरै नै कर्जा प्रबाह गर्नका लागि जोड दिन्छन । पहिलो त्रैमासमा प्रबाह भएको कर्जाले वर्षभरका लागि ब्याज आम्दानी गर्ने भएकाले आम्दानी वढाउनका लागि पनि पहिलो त्रैमासमा कर्जा प्रबाहका लागि धेरै जोड दिने गरेका छन् । असोज महिना सकिएसंगैे पहिलो त्रैमासको ब्याज आम्दानी पनि हुने भएकाले बैंकिङ प्रणालीमा निक्षेप थपिएको ती बैंकरको भानाइ छ ।

तर, विगतका वर्षहरुमा बैंकहरुले पहिलो त्रैमास आक्रामक भएर लगानी गर्दा कर्जा लगानी योग्य रकम अभावको समस्या हरेक वर्ष झेल्दै आएका बैंकहरु चालु आर्थिक वर्षको पहिलो त्रैमासदेखि नै होसीयारी अपनाएको देखिन्छ । असोजको अन्तिम सातामा निक्षेप वढेपनि बैंकहरुले कर्जा प्रबाहमा केही कसीलो नीति लिएपछि कर्जाको तुलनामा निक्षेप धेरै देखिएको छ ।

असोज महिनाको मध्ये देखि नै केही बैंकहरु कर्जा प्रबाह गर्न नसक्ने अवस्थामा पुगिसकेका थिए । बैंकहरुले आगामी दिन निक्षेप नवढाएसम्म कर्जा विस्तार गर्न सक्ने अवस्था थिएन । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २३ अर्ब निक्षेप झिकिएको बैंकिङ प्रणालीवाट ९ अर्ब रुपैयाँ कर्जा प्रबाह भएको थियो । त्यसैगरी भदौ महिनामा बैंकहरुले १० रुपैयाँ निक्षेप संकलन गरेर ४४ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम महिना असोजमा बैंकहरुले ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ७५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन । यो तथ्याङकले पनि बैंकहरुले निक्षेपका लागि भन्दा पनि कर्जामा धेरै जोड गरेको स्पष्ट हुन्छ । त्यसका साथै बैंकहरुले चालु आर्थिक वर्ष सुरु भएदेखि बैंकहरुले प्रबाह गरेको कर्जाको तुलनामा निक्षेप संकलन न्यून छ । यसले पनि आगामी दिन नयाँ निक्षेप विना कर्जा प्रबाह गर्ने सहज नहुने देखाउछ ।

चालु आर्थिक वर्ष सुरु भएपछि बैंकिङ प्रणालीमा सबैभन्दा धेरै निक्षेप असोज महिनामा आएको छ । समान्य, असोज महिना चाडवाडको समय भएकाले रेमिट्यान्स धेरै आउने गर्छ । त्यसले पनि बैंकहरुको निक्षेपमा केही सुधार हुनमा सहयोग गर्छ । विदेशमा रहेका नेपालीहरुले आफ्ना आफन्तहरुलाई दशैं तिहार खर्च वापत रेमिट्यान्स पठाउँदा वाणिज्य बैंकको निक्षेपमा सुधार आउने गरेको हो ।

चालु आर्थिक वर्षको कार्तिक एक गते सम्ममा वाणिज्य बैंकहरुमा कुल निक्षेप २९ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकहरुले कुल २६ खर्ब २६ अर्ब कर्जा प्रवाह गरेका छन् ।

असोज पहिलो साता वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ बराबरले कर्जा प्रवाह गरेकोमा दोस्रो सातमा ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असोजको तेस्रो सातामा ११ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका बैंकहरुको असोजको चौथो सातामा भने ५ अर्ब कर्जा घटेको छ । तर, पाँचौ सातामा आएर बैंकहरुले एक सातामानै २३ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका हुन ।